घोराही । भारतको लखनउस्थित सिटी मन्टेश्वरी स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘कोफास २०२६’ मा दाङको घोराहीस्थित सभ्यता पाठशालाका दुई विद्यार्थीले प्रथम स्थान हासिल गरेका छन् । ‘क्यारिकेचर डिजिटल कमिक मेकिङ’ विधामा प्रतिस्पर्धा गरेका विद्यालयका विद्यार्थी दिपमन भण्डारी र हायान पुन मगरले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका हुन् ।
विभिन्न देशका विद्यार्थीहरूको सहभागिता रहेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो सिर्जनात्मक क्षमता, कला र प्रतिभा प्रस्तुत गर्दै दुवै विद्यार्थीले प्रथम स्थान हासिल गर्नु सभ्यता पाठशालाका लागि मात्रै नभई समग्र दाङ र नेपालकै लागि गौरवको विषय बनेको छ। विद्यार्थीहरूको यस सफलताले नेपाली विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, नवीन सोच र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतालाई समेत उजागर गरेको छ।
सभ्यता पाठशालाका टोली नेता कृष्णदेव थापाले दुवै विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताए। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माणमा विद्यालयले जोड दिँदै आएको उल्लेख गर्दै उनले यस उपलब्धिलाई विद्यालयको शैक्षिक तथा सिर्जनात्मक यात्राको महत्वपूर्ण सफलताका रूपमा लिएका छन्।


