सल्यान । दुःख र संघर्षले भरिएको सल्यानको कालिमाटी गाउँपालिका, ७ सल्यानथरीका १७ घरपरिवारमा अहिले घरकै धाराबाट पानी आउँछ ।
कुनै समय पानी लिन घण्टौँ हिँड्नुपर्ने, डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने र खानेपानीको अभावकै कारण गाउँ छाड्नुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दाका लागि आफ्नै आँगनको धारामा पानी आउनु सामान्य कुरा होइन । बस्तीबाट करिब चार किलोमिटर टाढाको मुहानबाट चट्टान र भिर छिचोल्दै पानी ल्याइएपछि सल्यानथरीका बासिन्दाले झन्डै छ दशकदेखि भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको हो ।
बस्ती र पानीको मुहानबिचको दूरी, बिचमा रहेका कडा चट्टान, भिरालो भूगोल र कठिन भौगोलिक अवस्थाका कारण यहाँ खानेपानी ल्याउने कल्पना गर्नसमेत स्थानीयलाई मुस्किल थियो । वर्षौँदेखि विभिन्न निकायबाट खानेपानी सुविधा पुर्याउने आश्वासन पाए पनि त्यो पूरा हुन सकेको थिएन ।
निर्वाचनका बेला राजनीतिक दलका नेताहरूले समेत खानेपानीको विषयलाई आफ्नो प्रतिबद्धतामा समेट्थे । तर स्थानीयको दैनिकी भने पानीको खोजीमा समय खर्चिने र डोकोमा पानी बोकेर घर फर्किने नै थियो ।
अहिले भने त्यो बाध्यता हटेको छ । कालिमाटी गाउँपालिकाको १० लाख रुपियाँ अनुदान र स्थानीय उपभोक्ताको एक लाख रुपियाँ बराबरको जनश्रमदान गरी करिब ११ लाखको लागतमा खानेपानी योजना निर्माण गरिएको हो । चार किलोमिटर टाढाको मुहानबाट ल्याइएको पानी बस्तीका १७ वटै घरमा धारा निर्माण गरी वितरण गरिएको छ ।
वडा नम्बर–७ का अध्यक्ष मित्रलाल रिजालका अनुसार दुर्गम भूगोलका कारण योजना निर्माण चुनौतीपूर्ण थियो । यद्यपि, स्थानीयको आवश्यकता र लामो समयदेखिको समस्यालाई प्राथमिकतामा राखेर काम अघि बढाइएपछि योजना सफल भएको हो ।
‘मुहानसम्म पुग्नसमेत निकै कठिन छ । चट्टान र भिर भएको ठाउँबाट पानी ल्याउनु सजिलो थिएन । तर, स्थानीयको दुःखलाई ध्यानमा राख्दै योजना अघि बढायौँ,’ रिजालले भने, ‘गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानबाट अहिले घरघरमा धारा पुर्याउन सफल भएका छौँ ।’
बस्तीमा करिब ३५ घरधुरी रहेकामा विद्युत् खानेपानीलगायत समस्याले धेरै परिवार बसाइँ सरेर अन्यत्र गएका छन् ।
अहिले गाउँमा रहेका १७ घरपरिवारका लागि घरमै पानी पुगेपछि सुविधा थपिएको मात्रै छैन, वर्षौँदेखिको सास्तीबाट मुक्ति पनि मिलेको छ । खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष नैनसिंह घर्तीका अनुसार गाउँमा पानी ल्याउन सकिन्छ भन्ने विश्वास समेत स्थानीयमा थिएन ।
दुर्गम भूगोल र कठिन बाटोका कारण पानी ल्याउने प्रयास सफल होला भन्नेमा उनीहरू ढुक्क हुन सकेका थिएनन् । तर वडाध्यक्षको तदारुकता, स्थानीय सरकारको लगानी र गाउँलेको श्रमदानका कारण योजना पूरा भएको र घरमै पानी आउँदा ठुलो राहत भएको घर्तीको भनाई छ ।
खडेरीले स्थानीयलाई थप समस्यामा पारेको असारको सुरुवाततिर वडाध्यक्ष रिजाल आफैँ एक घण्टाभन्दा बढी समय हिँडेर बस्तीबाट करिब चार किलोमिटर टाढा रहेको मुहानसम्म पुगेका थिए ।
कठिन बाटो पार गर्दै मुहानमा पुग्दा पर्याप्त पानीको स्रोत देखेपछि उनले स्थानीयलाई पानी गाउँसम्म ल्याउन सकिने विश्वास दिलाए । त्यसपछि योजना कार्यान्वयन गर्ने अठोटसहित स्थानीय र स्थानीय सरकारबीच सहकार्य अघि बढेको थियो ।
सल्यानथरीमा मोटरबाटो पुगे पनि विद्युत सुविधा भने अझै पुग्न सकेको छैन । वडा नम्बर ७ को घुइयाबारी आसपासका क्षेत्रमा लामो प्रतीक्षा र संघर्षपछि हालै मात्र विद्युत् पुगेकाले सल्यानथरीमा विद्युत विस्तार हुन अझै केही समय लाग्ने देखिएको छ ।
खानेपानीको समस्या समाधान भए पनि विद्युत् र अन्य आधारभूत सेवाको अभावले दुर्गम बस्तीको जीवन सहज हुन सकेको छैन । जंगली जनावरको त्रास, पूर्वाधारको कमी र आधारभूत सेवासम्मको कठिन पहुँचका कारण यसअघि नै धेरै परिवार गाउँ छाडेर गइसकेका छन् ।
अहिले रहेका परिवारले पनि सहज जीवनयापनका लागि अन्य पूर्वाधारको प्रतीक्षा गरिरहेका छन् । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउनु गाउँपालिकाको प्राथमिकता रहेको बताए ।
सल्यानथरीका बासिन्दाहरू दशकौँदेखि आश्वासनमा सीमित रहेको खानेपानीको समस्या समाधान भएपछि अब विद्युत र अन्य आवश्यक पूर्वाधारको विकासले पनि गति लिने उनले बताए । गाेरखापत्रबाट


