वैदिक सनातन परम्परामा बाबु–आमालाई जीवित देवताका रूपमा सम्मान गरिन्छ। जीवित छँदा मातापिताको सेवा गर्नु मानवको कर्तव्य मानिन्छ भने देहावसानपछि उनीहरूको स्मरण, सम्मान र शास्त्रोक्त विधिअनुसार गरिने पितृकर्मलाई पनि उत्तिकै महत्व दिइएको छ। यही पितृप्रति श्रद्धा, स्मरण र कृतज्ञता व्यक्त गर्ने संस्कारलाई ‘श्राद्ध’ भनिन्छ ।
श्राद्ध शब्दको मूल भाव नै श्रद्धासँग जोडिएको छ। ‘श्रद्धया क्रियते इति श्राद्धः’ अर्थात् श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो। वेद तथा आफ्ना शाखासम्बद्ध गृह्यसूत्रले निर्देश गरेका विधिअनुसार पितृका निमित्त गरिने पैतृक कर्मलाई श्राद्धका रूपमा बुझिन्छ ।
‘पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते’ अर्थात् पितृकार्यलाई देवकार्यभन्दा पनि विशेष श्रद्धा र सम्मानका साथ गर्नुपर्ने शास्त्रीय मान्यता छ । त्यसैले पितृहरूको स्मरण गर्दै तर्पण, पिण्डदान, दान, भोजनलगायतका कर्म गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको पाइन्छ ।
ऋग्वेदलगायतका वैदिक ग्रन्थमा पूर्वजलाई श्रद्धापूर्वक सम्झने परम्पराको उल्लेख पाइन्छ। विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराणलगायतका ग्रन्थले पनि पितृकर्मको महत्वलाई स्वीकार गरेका छन्। श्राद्धका लागि श्रद्धा, भक्ति, पवित्र भावना र आफ्ना पूर्वजप्रतिको कृतज्ञता आवश्यक मानिन्छ। जन्म, गोत्र , थर ,पालनपोषण, शिक्षा र संस्कार प्रदान गर्ने मातापिताप्रति सम्मान व्यक्त गर्नु मानवको नैतिक कर्तव्य भएको धार्मिक मान्यता छ।
अथर्ववेदमा पितृहरूको सम्बन्ध पृथ्वी, अन्तरिक्ष र स्वर्गसँग जोडिएको उल्लेख पाइन्छ। पहिलो पुस्ता पिता–मातालाई वसुस्वरूप, दोस्रो पुस्ता हजुरबा–हजुरआमालाई रुद्रस्वरूप र तेस्रो पुस्ता बुढाहजुरबा–बुढीहजुरआमालाई आदित्यस्वरूप मानी श्राद्धकर्म गरिने परम्परा छ।
शास्त्रीय परिभाषामा भनिएको छ
‘प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मनः।
श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।।’
अर्थात् देहावसान भइसकेका बुवाआमालगायत समस्त पितृले प्राप्त गरून् भन्ने उद्देश्यले योग्य तथा पूज्य व्यक्तिलाई श्रद्धापूर्वक दान वा अर्पण गर्नु श्राद्ध हो।
श्राद्धका प्रमुख अङ्गमा तर्पण, पिण्डदान, सिधादान र ब्राह्मण भोजन पर्छन्। पिण्डदानअघि पितृसूक्त पाठ गर्ने परम्परा पनि छ। देश, काल र परिस्थितिअनुसार श्राद्ध गर्ने विधिमा केही भिन्नता पाइन्छ। कतिपयले शाकाहारी भोजन, फलफूल, दूध तथा नैवेद्य अर्पण गर्छन् भने विभिन्न समुदायमा आफ्नै सांस्कृतिक परम्पराअनुसार फरक अभ्याससमेत पाइन्छ।
पिण्डदानको महत्व
श्राद्धमा पिण्डको विशेष महत्व छ। सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो। श्राद्धमा भने दूधमा पकाइएको खीर वा दूधमा मुछिएको जौको पिठोबाट बनाइएको डल्लोलाई पिण्ड भनिन्छ। यसमा दूध, दही, घिउ, मह, सख्खर, तुलसीपत्र र कालो तिललगायतका सामग्री प्रयोग गरिन्छ ।
श्राद्धकर्ताले कुशको पवित्र धारण गरी पितृको नाम र गोत्र उच्चारण गर्दै विधिपूर्वक पिण्ड अर्पण गर्ने परम्परा छ। श्राद्धका लागि शरीर, धन, पत्नी, भूमि, मन, मन्त्र र ब्राह्मण गरी सात कुरा शुद्ध हुनुपर्ने शास्त्रीय मान्यता छ।
श्राद्धमा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ। पितृकार्यलाई विशेष महत्व दिइने भएकाले मन्त्र उच्चारण र विधिमा शुद्धता आवश्यक मानिन्छ।
पार्वण श्राद्ध
पार्वण श्राद्धमा परम्परागत रूपमा चार जना ब्राह्मणको व्यवस्था गरिन्छ। चारै जना उपलब्ध हुन नसक्ने अवस्थामा ब्राह्मणको प्रतीकस्वरूप कुशको ब्राह्मण स्थापना गर्ने चलन छ। दुई जनालाई विश्वदेव र दुई जनालाई पितृब्राह्मणका रूपमा राखिन्छ।
देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएपछि पार्वण श्राद्ध सुरु गर्ने विधि छ। त्यसपछि ब्राह्मणलाई निमन्त्रणा गरी सिधादान, अन्नदान, पिण्डदानलगायतका कर्म गरिन्छ।
सोह्रश्राद्धमा पितृतर्फ र मातृतर्फका तीन–तीन पुस्ता, सासू–ससुरा, गुरु तथा अन्य आफन्तलाई समेत श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ। यसको उद्देश्य दिवंगत आफन्तप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नु हो।
श्राद्धका प्रकार
मनुस्मृतिमा श्राद्धका पाँच प्रकार उल्लेख गरिएको पाइन्छ–
‘नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं तथैव च।
पार्वणञ्चेति मनुना श्राद्धं पञ्चविधं स्मृतम्।।’
अर्थात् नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी पाँच प्रकारका श्राद्ध छन्।
भविष्य पुराणमा भने श्राद्धका १२ प्रकार उल्लेख गरिएको पाइन्छ। तीमध्ये नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डी, पार्वण, गोष्ठी, शुद्ध्यर्थ, कर्माङ्ग, दैविक, यात्रार्थ र पुष्ट्यर्थ श्राद्ध रहेका छन्।
व्यवहारमा एकोद्दिष्ट, एकपार्वण, आभ्युदयिक, तीर्थ, काम्य, गुठी, यात्रा तथा पार्वण वा महालय श्राद्ध बढी प्रचलित छन्।
पितृपक्ष र सोह्रश्राद्ध
आश्विन कृष्णपक्षलाई पितृपक्ष भनिन्छ। बोलीचालीमा यसलाई सोह्रश्राद्ध वा महालय श्राद्ध पनि भनिन्छ। दिवंगत पितृको मोक्ष र स्मरणका लागि पिण्डदान, तर्पण तथा दान गर्ने पर्वका रूपमा पितृपक्षलाई लिइन्छ।
सोह्रश्राद्धको तिथिका विषयमा विभिन्न शास्त्रीय परम्परा र मत पाइन्छन्। कतिपय परम्परामा भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका तिथिलाई गणना गरिन्छ भने कतिपयले आश्विन कृष्णपक्षका १५ तिथिलाई मात्र पितृपक्ष मान्छन्। त्यसैले ‘सोह्रश्राद्ध’ नाम र यसको गणनाबारे विभिन्न मत रहेको देखिन्छ।
पितृपक्षमा नेपालका विभिन्न धार्मिक तीर्थस्थलमा तर्पण, पिण्डदान र सिधादान गर्ने चलन छ। काठमाडौंको पशुपति, गोकर्ण, कोशीको बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, जनकपुर, मुक्तिनाथ, दामोदरकुण्ड, कागवेनी, बेत्रावतीलगायतका स्थानमा श्रद्धालु पुग्ने गर्छन्।
विशेष तिथिको श्राद्ध
पितृपक्षका केही तिथिलाई विशेष महत्व दिइएको छ। पञ्चमीमा अविवाहित अवस्थामा मृत्यु भएकाको श्राद्ध गर्ने भएकाले यसलाई कुमार पञ्चमी भनिन्छ। नवमीलाई मातृनवमी भनिन्छ, जसमा श्रीमान् जीवित छँदै देहावसान भएका महिलाको श्राद्ध गर्ने परम्परा छ।
एकादशी र द्वादशीमा संन्यासीको श्राद्ध गर्ने परम्परा छ। चतुर्दशीमा दुर्घटना, युद्ध, हत्या, आत्महत्या, शस्त्र, आगलागी, डुबेर वा अन्य असामान्य कारणबाट मृत्यु भएकाको श्राद्ध गर्ने चलन छ।
औँसी पितृपक्षको अन्तिम तथा महत्वपुर्ण तिथि हो। पितृको तिथि थाहा नभएको वा अन्य तिथिमा श्राद्ध गर्न नसकिएको अवस्थामा औँसीमा श्राद्ध गर्न सकिने मान्यता छ। त्यसैले यसलाई सर्वपितृ मोक्ष औँसीसमेत भनिन्छ।
श्राद्धमा तर्पण र पिण्ड
श्राद्धमा पितृहरूको मात्र नभई व्यापक रूपमा समस्त जीव प्राणीको तृप्तिको कामना गर्ने परम्परा छ। तर्पणका क्रममा पितृवंश, मातृवंश, गुरु, सासू–ससुरा तथा अन्य दिवंगत आफन्तको स्मरण गरिन्छ।
पिण्डको संख्याबारे पनि विभिन्न परम्परा पाइन्छ। एकपार्वणमा तीन, द्विपार्वणमा छ, त्रिपार्वणमा नौ र चतुश्पार्वणमा १२ पिण्ड दिने परम्परा उल्लेख गरिएको छ। सोह्रश्राद्धमा भने घरतर्फ र मामाघरतर्फका पितृलाई तीन–तीन गरी छ पिण्ड दिने चलन रहेको पाइन्छ।
पिण्ड प्रायः खीरबाट तयार गरिन्छ। त्यसमा तुलसीपत्र, तिल, घिउ, मह, दूध, दही र सख्खरलगायतका सामग्री प्रयोग गरिन्छ। श्राद्ध सम्पन्न भएपछि पिण्डलाई जलमा विसर्जन गर्ने वा परम्पराअनुसार गाई, अग्नि वा ब्राह्मणलाई अर्पण गर्ने चलनसमेत पाइन्छ।
श्राद्धका नियम र शुचिता
श्राद्धमा शुद्धता र पवित्रतालाई विशेष महत्व दिइएको छ। श्राद्धकर्ता संयमित रहनुपर्ने, क्रोध, कलह र असंयमबाट टाढा रहनुपर्ने मान्यता छ। श्राद्धका दिन ब्रह्मचर्य पालना गर्ने तथा श्राद्ध सम्पन्न भएपछि मात्र भोजन गर्ने परम्परा पनि छ।
श्राद्धमा कालो तिल, कुश र जलको विशेष प्रयोग हुन्छ। शास्त्रीय मान्यताअनुसार श्राद्ध मध्यान्ह वा अपराह्नमा गर्नु उपयुक्त मानिन्छ।
श्राद्धमा चढाइने फूलका विषयमा पनि छुट्टै मान्यता छन्। अगस्ती, भृंगीराज, तुलसी, सयपत्री, चाँप र तिलको फूल पितृलाई प्रिय मानिएको पाइन्छ। त्यस्तै केतकी, करवीर, वकुल, कुन्दक, पाटली र जाईजस्ता फूल प्रयोग नगर्न भनिएको छ।
भोजनका लागि सुन, चाँदी, काँस र तामाका भाँडालाई उपयुक्त मानिएको छ। श्राद्धमा फलाम तथा स्टिलका भाँडा प्रयोग नगर्ने र केराको पातमा भोजन नगराउने परम्परा पनि केही शास्त्रीय मतमा पाइन्छ।
जीवित छँदाको सेवा नै मुख्य
श्राद्धको मूल भावना मृतकलाई सम्झनु मात्र होइन, जीवित मातापिताप्रति कर्तव्य पूरा गर्नु पनि हो। बाँचुन्जेल आमाबुवालाई दुःख दिने, बेवास्ता गर्ने र देहावसानपछि मात्र ठूलो तामझामका साथ श्राद्ध गर्नुको अर्थ नरहने सन्देश धार्मिक परम्पराले दिएको छ।
‘जीविते वाक्यकरणात् क्षयाहे भूरिभोजनात्।
गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता।’
अर्थात् जीवित छँदा मातापिताको आज्ञा पालना गर्नु, उनीहरूको हेरचाह गर्नु र देहावसानपछि अन्त्येष्टि तथा पिण्डदान गर्नु सन्तानको प्रमुख कर्तव्य हो।
यसै भावलाई सन्त कविरले पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् ‘जिते बापको रोटी न देवें, कौवा बाप बनै हौं।’ अर्थात् जिउँदो हुँदा खान नदिने तर मरेपछि पिण्ड चढाउनुको कुनै औचित्य हुदैन ।
यसकारण श्राद्ध केवल एउटा कर्मकाण्ड मात्र होइन, मातापिता तथा पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने संस्कार पनि हो। जीवित छँदा सेवा, सम्मान र हेरचाह गर्नु नै पितृऋण तिर्ने पहिलो र महत्वपुर्ण माध्यम हो। देहावसानपछि गरिने श्राद्ध त्यसै कृतज्ञताको धार्मिक निरन्तरता हो।
बदलिँदो समय र श्राद्ध
आधुनिक जीवनशैली, रोजगारी, व्यवसाय र व्यस्तताका कारण शास्त्रीय विधिअनुसार पूर्ण रूपमा श्राद्ध गर्ने परम्परा कतिपय परिवारमा कमजोर हुँदै गएको देखिन्छ। कतिपयले पितृको स्मरणमा वृद्धाश्रममा भोजन, कपडा वा सहयोग उपलब्ध गराउने तथा सामाजिक संस्थालाई सहयोग गर्ने गरेका छन्।
धार्मिक परम्पराको मूल उद्देश्य श्रद्धा, स्मरण र कृतज्ञता भएकाले समय र परिस्थितिअनुसार यसको अभ्यासमा परिवर्तन आए पनि पितृप्रतिको सम्मानको भाव कायम रहनुपर्ने मान्यता छ।
सनातन संस्कारमा मातापिता र गुरुको स्थान सर्वोच्च मानिन्छ। संसारमा त्यस्तो कुनै भौतिक वस्तु छैन, जसले मातापिताले लगाएको ऋण पूर्ण रूपमा चुक्ता गर्न सकोस्। त्यसैले बाँचुन्जेल उनीहरूको सम्मान, सेवा, आज्ञापालन र हेरचाह गर्नु नै सबैभन्दा ठूलो कर्तव्य हो।
देहावसानपछि गरिने श्राद्धले त्यही कर्तव्य र कृतज्ञताको स्मरण गराउँछ। पितृपक्ष केवल एउटा धार्मिक पर्व नभई आफ्नो अतीत, आफ्नो वंश र आफ्ना पुर्खाप्रतिको सम्बन्ध सम्झने अवसर पनि हो।
त्यसैले गच्छेअनुसार श्राद्ध गर्नु, पितृको तिथिको स्मरण गर्नु र सम्भव भएसम्म शास्त्रीय विधिको पालना गर्नु धार्मिक परम्पराको हिस्सा हो। तर यसको मूल भाव पुर्खालाई सम्झनु, उनीप्रति कृतज्ञ हुनु र जीवित मातापिताको सम्मान तथा सेवा गर्नु मृत्यु पछि शास्त्रीय बिधि अनुसार श्रद्धापुर्वक स्मरण गर्नु नै हाम्रो सनातन संस्कार हो ।


