शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया टुङ्ग्याउन निर्देशन दिएका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै बाहिर आएका गुनासालाई सम्बोधन गर्ने गरी मन्त्री पोखरेलले नियमावलीको एघारौँ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आएका छन्।

शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार, मन्त्रालयका उच्च अधिकारी र सचिवालयले सबै सरोकारवालाहरूसँग मन्त्रालयमा चरणबद्ध छलफल गरेको थियो । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझाव लिइएको थियो ।

शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरूमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिए।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस