काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।
प्रकाशित सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना पदका लागि पनि दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। प्रहरी कार्यालय सहायकका पदका लागि भने तोकिएको अवधिभित्र कार्यालय समयअनुसार दरखास्त दिन सकिने प्रहरीले जनाएको छ।
आवेदनका लागि आवश्यक योग्यता, दस्तुर, परीक्षा तथा छनोटसम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।


