अपर त्रिशूली–१ को सुरुङबाट आज दुई शव निकालियो

काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ । लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङबाट दुई वटा शव फेला परेको जानकारी दिए ।

उनीहरूको पहिचान भने भइनसकेको अधिकारीले बताए । उनका अनुसार, सुरुङको भित्री भागबाट शव फेला परेको हो । यही सुरुङबाट हिजोमात्रै चिनियाँ नागरिकको जीवितै उद्धार भएको थियो ।

आयोजना स्थलमा बिहीबारदेखि नै लगातार शव फेला परिरहेका छन्। बिहीबार एउटा खुट्टासहितको शव फेला परेको थियो भने शुक्रबार थप ६ जनाको शव भेटिएको थियो।

सुरूङभित्र अझै करिब ३०० जना मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। अहिले पनि उक्त सुरुङमा खोजी कार्य जारी छ । भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको आज १२ औं दिन हो ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस