बाँके । रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका छन् । बाढीपछि फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।
शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उनको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भएका छन् ।
रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।


