विपद् पीडितका लागि मदन बाबा भक्ति केन्द्रको ३ लाख ४० हजार सहयोग

दाङ । प्राकृतिक विपद्ले निम्त्याएको मानवीय संकटका बेला श्री मदन बाबा भक्ति केन्द्रले राहत तथा उद्धार अभियानका लागि तीन लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अनन्त परम उद्धारकर्ता, संकटमोचन स्वरूप तत्त्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबाको सदिच्छाअनुसार केन्द्रले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ जम्मा गरेको हो। साथै विपद्मा परेर बेपत्ता भएका व्यक्तिको खोजी तथा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले थप ४० हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

केन्द्रका केन्द्रीय अध्यक्ष शारदा तिवारीका अनुसार सद्गुरुदेव श्री मदन बाबा तथा भक्ति केन्द्रमा आबद्ध श्रीशम्भुहरूको सहभागितामा रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भइरहेका बेला राज्यको राहत तथा उद्धार अभियानमा सामाजिक तथा धार्मिक संघसंस्थाको समेत सहकार्य आवश्यक ठानेर सहयोग गरिएको उनले बताए।

विपद्का बेला मानवीय सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै केन्द्रले प्रभावित नागरिकको पीडामा साथ दिन आर्थिक सहयोग गरिएको जनाएको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको रकमले विपद्पीडित परिवारको राहत, उद्धार तथा आवश्यक सहयोगमा योगदान पुग्ने विश्वास केन्द्रले व्यक्त गरेको छ।

“विपद् कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या होइन, यो सम्पूर्ण समाजको साझा चुनौती हो,” केन्द्रका पदाधिकारीहरूले बताएका छन्, “यस्तो अवस्थामा राज्यको प्रयाससँगै सामाजिक तथा धार्मिक संघसंस्थाले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ।”

बेपत्ता सदस्यको परिवारलाई छुट्टै सहयोग

यसैबीच, श्री मदन बाबा भक्ति अभियानमा आबद्ध एक परिवारका सदस्य रसुवामा कार्यरत रहँदा आएको विपद्पछि बेपत्ता भएपछि केन्द्रले उनको परिवारलाई छुट्टै आर्थिक सहयोग गरेको छ।

बर्दियाको बारबर्दिया नगरपालिका–१, जमुनियाका मानबहादुर थारुका छोरा आशिषकुमार थारु रसुवास्थित पावर चाइना सिनो हाइड्रोको ड्याम साइटमा कार्यरत रहँदा विपद्पछि हालसम्म बेपत्ता रहेको जनाइएको छ।

मानबहादुर थारु भक्ति अभियानमा निरन्तर सक्रिय रहँदै आएको तथा परिवारको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै केन्द्रले संस्थागत निर्णयअनुसार आशिषकुमारको खोजी कार्य तथा परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले ४० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ।

विपद्पछि आशिषकुमारको अवस्था अज्ञात रहेकाले परिवार चिन्तामा रहेको बताइएको छ। उनको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने माग पनि केन्द्रले गरेको छ।

सबै बेपत्ताको खोजी गर्न अपिल

त्यसैगरी, कैलाली जिल्ला घर भई हाल रसुवास्थित एनएमबी बैंकमा कार्यरत सुवास रावल पनि विपद्पछि बेपत्ता रहेको भक्ति केन्द्रले जनाएको छ।

केन्द्रले आशिषकुमार थारु र सुवास रावललगायत विपद्का कारण बेपत्ता भएका सम्पूर्ण व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

विपद्का बेला राहत सामग्री वितरण मात्र पर्याप्त नहुने उल्लेख गर्दै केन्द्रले बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, विस्थापितको पुनःस्थापना तथा पीडित परिवारलाई दीर्घकालीन सहयोग आवश्यक रहेको जनाएको छ।

प्राकृतिक विपद्ले निम्त्याएको संकटमा राज्य, नागरिक समाज, सामाजिक तथा धार्मिक संघसंस्था तथा सर्वसाधारणबीचको सहकार्य अपरिहार्य रहेको भन्दै केन्द्रले आगामी दिनमा समेत विपद् तथा मानवीय संकटमा परेका नागरिकको सहयोगका लागि आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

केन्द्रले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सबै सरोकारवाला निकायसँग अपिल गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस