काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ भन्ने शब्दप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद रानाले यस्ता अमानवीय र क्रुर शब्दहरूको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्म विपरीत हुने बताइन् ।
सांसद रानाले आफू विगत लामो समयदेखि बालबालिका र कैदीबन्दीको हकहितका लागि लड्दै आएको स्मरण गराइन् । ‘मानिसलाई यातना दिने र कोर्रा लगाउने जस्ता कार्य विरुद्ध कानुन ल्याउन वकालत गर्ने व्यक्तिहरूमध्ये म पनि एक हुँ,’ रानाले भनिन् । वर्षौँको मेहनतपछि नेपालमा शारीरिक यातनालाई निषेध गर्ने कानुन बनेको अवस्थामा पुनः यस्ता शब्दहरू सुन्नु दुःखद भएको उनको टिप्पणी थियो।
अपराध जोसुकैले गरोस् वा जुनसुकै परिस्थिति होस्, नागरिकलाई कोर्रा हान्ने भन्नु शोभनीय नहुने उनले बताइन् । राईलेले सार्वजनिक रूपमा वा संसद्मा प्रसंगवश आएका यस्ता शब्दहरूलाई संसद्को आधिकारिक रेकर्डबाट हटाउन उनले सभामुखसँग अनुरोध गरिन् । राईले गलत काम गर्नेलाई कोर्रा हान्नुपर्ने बताएका थिए ।


