प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ माग गरेर आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको तर्क गरिन् ।

‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्,’ उनले भनिन्, ‘हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं ।’ साथै, उनले प्रधानमन्त्री शाह एक्लै नभएको भन्दै प्रतिपक्ष सधैं साथमै उभिने प्रतिबद्धता जनाइन् ।

‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईं अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्, ‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन ।’

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस