मलको आपूर्ति सुनिश्चित गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् – ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’ सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले रासायनिक मलको सहज आपूर्ति नहुँदा किसान ठूलो समस्यामा परेको बताउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका हुन्।

संयोजक प्रचण्डले मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुने पनि सरकारलाई स्मरण गराएका छन्।त्यसकारण आफू नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको प्रचण्डले सम्झिएका छन्।

‘त्यसैले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु’ उनले लेखेका छन्।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस