काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको माग अस्वाभाविक बढेको भन्दै अबको दुई साताभित्र सहज हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले प्राविधिक समस्या र उपभोक्ताको ‘प्यानिक बाइङ’ (आत्तिएर खरिद गर्ने प्रवृत्ति) का कारण केही असहज स्थिति सिर्जना भए पनि आगामी दुई साताभित्र ग्यास आपूर्ति पूर्णरूपमा सहज हुने दाबी गरेका हुन् ।
निगमका अनुसार सामान्य अवस्थामा करिब ४७ हजार टन ग्यासको माग हुने गरेकोमा अहिले त्यो बढेर ६० हजार टन पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग ग्यास आपूर्ति बढाउन निरन्तर पहल भइरहेको निगमले जनाएको छ ।
‘हामीले कम्तीमा दुई महिनाका लागि ४९ हजार टनको डिमान्ड (माग) पठाउँथ्यौं, तर अहिले हामीलाई ६० हजार टनको माग आएको छ,’ बरालले भने, ‘आईओसीले ४९ हजार ५ सय टनमात्र दिन सकिने बताए पनि हामीले जसरी भए पनि ५५ हजार टन उपलब्ध गराउन आग्रह गरेका छौं ।’
बजारमा ग्यास अभाव देखिनुमा उपभोक्ताले आत्तिएर ग्यास भण्डारण गर्नु पनि प्रमुख कारण रहेको निगमको ठहर छ । उपभोक्ता अधिकारकर्मीहरूसँगको छलफलमा पनि दसैंतिहार मध्यनजर गर्दै दुई महिनाका लागि ६० हजार टन ग्यास ल्याउन सके र घरमा भएका खाली सिलिन्डर भर्न सके बजारको दबाब घट्ने विषयमा कुराकानी भएको बरालले बताए ।


