लुम्बिनीमा प्रविधि विस्तारले गहुँ उत्पादन बढाउने आशा

लुम्बिनी। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आएका थिए। भारतीय सीमा नजिक भएकाले उनी भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आएका थिए। आवश्यक ज्ञानको अभावले पर्याप्त उत्पादन लिन कठिनाइ भइरहेको थियो।

उन्नत गहुँखेती प्रविधि तालिममा सहभागी भएर यादवले प्रमाणित बीउ छनोट, बीउ छर्ने तरिका, मलखाद प्रयोग, सिँचाइ, रोग–कीरा नियन्त्रण लगायतका आधुनिक खेतीका अभ्यास सिके। तालिमबाट सिकेको ज्ञान उनले आफ्नो खेतमा मात्र होइन, गाउँका अन्य किसानलाई पनि साझा गर्ने योजना बनाएका छन्।

तालिममा २४ जिल्लाका २५ जना किसान र १५ विद्यार्थी सहभागी थिए। एक हप्तासम्म सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमार्फत किसानहरूलाई उन्नत गहुँखेती सिकाइएको थियो।

तालिममा धेरै किसानलाई नयाँ विकसित गहुँ जातबारे जानकारी थिएन। धेरैलाई कुन जातको बीउ छरेको हो भन्ने पनि थाहा थिएन। तालिममा उपयुक्त जात छनोट, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि, माटो परीक्षण, मलखाद प्रयोग, सिँचाइ, रोग–कीरा नियन्त्रण, झार व्यवस्थापन, कटानी र भण्डारण सिकाइएको थियो।

तालिम संयोजक डा. रोशन बस्नेतले भने, “किसानलाई नयाँ प्रविधि र उन्नत जातको बारेमा प्रशिक्षण दिनाले उत्पादन बढाउन मद्दत गर्छ।”

नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी अनुसन्धान निर्देशक डा. टेकप्रसाद गोतामेले भने, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले पछिल्लो पाँच दशकमा ५४ वटा उन्नत गहुँ जात विकास गरेको छ। हाल थप चार जात सिफारिसको चरणमा छन् भने १३ पुराना जात सूचीबाट हटाइएका छन्।

तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२०, पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गा जात विकास भएका छन्। यी जातमा जिङ्क र आइरनको मात्रा बढी र रोग, कीरा तथा जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता छ। नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिन्छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस