लुम्बिनी प्रदेशसभा सदस्य गुरुङले लिइन् पद तथा गोपनीयताको शपथ

भालुवाङ । लुम्बिनी प्रदेशसभा सदस्य रेवती गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

सोमबार लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष गुरुङले शपथ लिएकी हुन् ।

रुकुमबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी थिइन् ।

निर्वाचन आयोगको मंसिर ११ गतेको निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो ।

रुकुमपूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।

पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो ।

८७ सदस्यीय प्रदेशसभामा २९ सांसदसहित एमाले पहिलो दल हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस