बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरूको अनुगमन गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिने क्रममा आज रुपन्देही आएका हुन् ।
यसअघि अर्घाखाँची, प्युठान, दाङ र बाँके जिल्लामा अनुगमन गरेका छन् । आज रुपन्देहीको भैरहवा र बुटवलका विभिन्न स्थानको निरीक्षण गर्दै घटनाको न्यायिक छानबिन गरेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सङ्घीय सरकारसँग माग गरे ।
उनले आन्दोलनको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिलाई ध्वस्त पार्ने काम भएको बताए । उनले सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन प्रदेश सरकारले पहल थालेको बताए ।
रुपन्देहीमा विभिन्न सरकारी कार्यालय,व्यवसाय,निजी निवासमा आगजनी र तोडफोड भएको थियो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
त्यस्तै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा पनि तोडफोड तथा आगजनी भएको उल्लेख छ ।


