तुलसीपुर । रातो र हरियो रंगमा सजिएका महिलाहरूको उपस्थितिले विहिबार तुलसीपुर ११ मोतीपुर एक विशेष माहोलमा डुबेको थियो ।
हरितालिका तीजको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगरकमिटीको आयोजना गरिएको तीज मिलन कार्यक्रम भव्य उत्साह र उल्लासमय वातावरणका बीच सम्पन्न भयो ।
सांगीतिक तालमा नाच्दै गाउँदै महिलाहरूले तीजको उल्लास पोख्दा हाँसो र खुसीको लहर दौडिएको थियो । “तीज केवल पर्व मात्र होइन, आत्मबल र सामाजिक एकताको प्रतीक पनि हो,” कार्यक्रमकी प्रमुख अथिती राप्रपाकी केन्द्रीय सदस्य सरिता देवकोटाले सम्बोधन गर्दै भनिन ।
कार्यक्रममा सहभागीहरूले परम्परागत तीज गीत, लोकदोहोरी र नृत्य प्रस्तुत गरेका थिए । प्रस्तुतिहरूले मौलिक संस्कृतिलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई परम्परासँग जोड्ने सन्देश दिएको थियो । सोही कार्यक्रममा राप्रपा महिला संगठनकी केन्द्रीय सदस्य बिभला घर्तिले तीजलाई संस्कृति संरक्षण र सामाजिक सद्भावको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिईन उनले तीज पर्वलाई महिलाको आत्मबल अभिवृद्धि र आपसी सद्भाव विस्तार गर्ने माध्यमका रूपमा चित्रित गरिएको बताईन । महिला संगठनकी केन्द्रीय सदस्य उषा राणाले तीजलाई मौलिक र सृजनात्मक ढंगले मनाउनुपर्ने तथा संस्कृतिमा देखिएका विकृति सच्याउँदै समाजमा सकारात्मक सन्देश फैलाउनुपर्ने धारणा व्यक्त गरेकी थिईन ।
“तीज मिलनले महिलाबीच भेटघाट, अनुभव आदान–प्रदान र एक–अर्काप्रति सहकार्यको भावना मजबुत बनाउँछ,” राप्रपा तुलसीपुर नगरकमिटीका अध्यक्ष पर्वत बस्नेतले भने उनले महिला दिदि बहिनीहरुलाई तीज पर्वको अवसर पारेर दर खुवाउने परम्परालाई निरन्तरता दिने प्रयास गरेको बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य शिव चौधरी , लुम्विनि प्रदेशका वरिष्ठ उपाध्यक्ष भुपाल रावत , लुम्विनी प्रदेशका सह सचिव दिपक धिताल निर्वतमान जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत , पुर्वकेन्द्रीय सदस्यहरु , लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरू परम्परागत रातो तथा हरियो पोशाकमा सजिएर तीजका भाका, सांस्कृतिक नृत्य र लोकगीत प्रस्तुत गरेका थिए । कुन्ता बस्नेतको स्वागतबाट सुरु भएको तीज मिलन कार्यक्रम महिला नेतृ दुर्गा केसीले गरेकी थिईन ।
कार्यक्रमको समापनमा सहभागीहरूले एक–अर्कासँग शुभकामना आदान–प्रदान गर्दै तीज पर्वले सबैमा नयाँ उमंग र उत्साह भरिदिने विश्वास व्यक्त गरेका थिए ।
नाचगान, रमाइलो र उल्लाससँगै सम्पन्न कार्यक्रमले नारीहरूको सक्रियता र सहभागितालाई उजागर गरेको देखिएको छ ।


