जनकल्याण माविले विद्यार्थीलाई संस्कार सिकाउँदै

तुलसीपुर । एकातिर सामुदायिक विद्यालयमा अंग्रेजी पढाइ राम्रो नहुने भन्दै अभिभावकहरूले निजी विद्यालय रोज्ने गरेका छन्, भने अर्कोतर्फ सबै कुरामा अंग्रेजी भाषालाई महत्व दिँदा बालबालिकाहरूले संस्कार संस्कृति भुल्दै गइरहेका छन् । अहिलेको यो अवस्थामा भने दाङको शान्तिनगरमा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरले भने विद्यार्थीहरूलाई संस्कार सिकाउँदै आएको छ ।

सामान्यतया विद्यार्थीहरूले विद्यालय होस् वा अन्य ठाउँमा गुडमर्निङ, गुड अफ्टरनुन भनेर बोल्ने गर्ने गरेका हुन्छन् । तर, यस विद्यालयमा प्रधानध्यापक निम बहादुर केसीले आएपछि भने विद्यार्थीहरूलाई विद्यालयमा वा विद्यालय बाहिर पनि नमस्कार गर्ने संस्कार सिकाइएको छ । यो संस्कार सिक्दा निकै खुशी लागेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी साधना खड्काले बताइन् । उनले भनिन्, ‘म कक्षा एक देखि नै यस विद्यालयमा पढ्दै आएकी छु । पहिला हामीले विद्यालयमा सर, म्यामहरुलाई गुडमर्निङ भनेर भन्ने गरेका थियौँ । तर, यस विद्यालयमा प्रअ निमबहादुर सर आए देखि नमस्कार गर्ने अभियान शुरु गर्नु भयो अहिले हामी सबैले नमस्कार नै गर्ने गरेका छौँ ।’ उनले हरेक ब्यक्तिलाई संस्कारले हुर्काउने भन्दै संस्कार विना व्यक्ति सफल नहुने समेत बताइन् । उनले पछिल्लो समय नजानेर भएपछि अंग्रेजी प्रयोग गर्ने बानीका कारण सबैले नेपालीको संस्कार भुल्दै गएको भन्दै यस विद्यालयले नमस्कार गर्ने संस्कारले गर्दा आफूहरू धेरै खुसी भएको बताइन् । उनले हरेक कुराहरू विद्यालयबाट सिक्ने भएकाले पनि सबैले आफ्नो रीतिरिवाज, संस्कार, चालचलनहरू जोगाउनु पर्ने समेत बताइन् ।

नेपाल संस्कार, संस्कृतिले चिनिने भएयता पनि पछिल्लो समय अंग्रे्रेजी भाषाका कारण त्यो सबै हराउँदै गइरहेको अवस्थामा विद्यालयले यो निमय शुरु गरेपछि धेरै राम्रो भएको कक्षा १२ मा अध्ययनरत राधिका जैसीले बताइन् । अंग्र्रेजी भाषा पनि महत्वपूर्ण हुने भएयता पनि नेपालीले संस्कार, संस्कृति भुल्न नहुने उनको भनाइ छ । उनले भनिन्, ‘अहिले गाउँघरमा पनि आफू भन्दा ठूला ब्यक्तिलाई नमस्कार गर्नुको साटो गुडमर्निङ भन्ने गरिन्छ । यसले गर्दा पनि विस्तारै हाम्रो संस्कार हराउँदै गइरहेको जस्तो लाग्छ । दुई हात जोडेर हामीले नमस्कार नै गर्न छाडेका छौँ, सिधै गुडमर्निङ भनिन्छ । तर, विद्यालयले हामीलाई नमस्कार गर्ने संस्कार सिकाएको छ । यसले गर्दा पनि थोरै संस्कारको जर्गेना हुने आश पलाएको छ ।’

विद्यार्थीहरूले प्रविधि, सीप र संस्कार सिक्नु पर्ने भएकाले विद्यालयमा नमस्कारको संस्कार बसालेको विद्यालयका प्रधानध्यापक निम बहादुर केसीले बताए । विद्यार्थीहरूले अंग्रेजी भाषा जान्नु पर्ने हुन्छ, तर, त्यही भाषाका कारण हाम्रो संस्कार हराउँदै गइरहेको अवस्थामा विद्यालयले यो अभियान शुरु गरेको उनको भनाइ छ । उनका अनुसार संस्कार सिकाउनका लागि विद्यालयमा नमस्कारको संस्कार बसालिएको हो ।

उनले भने, ‘गुडमर्निङ, गुड अफ्टरनुन हामीले विद्यालयमा बोल्न बन्द गरेका छौँ । हामीले भाषा सिक्न आवश्यक हुन्छ । तर, हामीले आफ्नो संस्कार, संस्कृति पनि भुल्नु हुँदैन, भन्ने उद्देश्यले नै नमस्कार संस्कार ल्याएका हौँ ।’ यस्तै उनले विद्यालयले विद्यार्थीहरुले जे सिकायो, त्यहि सिक्ने भएकाले विद्यार्थीहरुलाई गुडमर्निङ सिकाउँदा घरमा गएर पनि उनीहरुले त्यहि सिक्ने र आफूभन्दा ठुलालाई नमस्कार नगर्ने हुँदा नै यो संस्कार सिकाएको पनि बताए । उनले भने, ‘हामीले अहिले नमस्कार गर्न सिकाएनौँ, भने आफूभन्दा ठुलालाई नमस्कार गर्ने संस्कारको विकास हुन सक्दैन्, त्यहि कारणले पनि विद्यालयले नमस्कार गर्ने संस्कार सिकाएको हो ।’

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस