गृह मन्त्रालयले थाल्यो प्रहरी अस्पतालकी डाक्टर सिंहमाथि कारबाही प्रक्रिया

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सिक डा। शिवानी सिंहलाई कारबाही गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

प्रहरी अस्पतालको रेडियोलोजी शाखामा दरबन्दी भई छाला रोग विभागमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. सिंह बिदा स्वीकृत बेगर ९० दिनभन्दा बढी समय अनुपस्थित रहेपछि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

डा. सिंह साउन ६ गतेदेखि आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनुपर्नेमा नआएपछि प्रहरी प्रधान कार्यालयले उनीबारे खोजतलास गर्नुका साथै हाजिर हुन सूचना समेत टाँस गरेको थियो । प्रहरी प्रधान कार्यालयले सोधीखोजी गर्दासमेत डा. सिंह सम्पर्कमा नआएपछि गृहले आइतबार एक सार्वजनिक सूचना जारी गरेर सातदिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणका लागि बाटोको म्यादबाहेक सात दिनको समय दिएको गृहले यसको अटेरी गरेको खण्डमा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने जनाएको छ । प्रहरी ऐनमा कुनै पनि कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस