लमहीका मेयरले लगाए आफ्नै घरमा डोजर

देउखुरी । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नो घरमा डोजर लगाउनुभएको छ ।

हुलाकी सडक विस्तार हुदा सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो । नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थाल्नुभएको हो । ‘यो पुरानो घर हो । धेरै कार्यालय बसे । मान्छेहरूको बस्ने ठाउँ भयो । अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो’ उहाँले भन्नुभयो, ‘सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानको लागी मैले पहिलो डोजर आफ्नै घरमा लगाए ।’

डोजर लिएर प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी, जनप्रतिनिधि र स्थानीहरू पुगेका थिए । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो ।

सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्ष पछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो । लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ । जसले गर्दा बजार राम्रो सँग विस्तार हुन सकेको थिएन ।

अव बजारको सुन्दरता र यहाँको विकासको लागी काम गरिने प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताउनुभयो ।‘घरमा भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छन की भन्ने चिन्ता छ । हामी त्यस्तो हुन दिदैनौँ । सडक खाली हुदैजान्छ नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ’ उहाँले भन्नुभयो, ‘यो सडक खाली गराउने अभियानमा सबै नगरवासी सँग अपिल गर्दछु ।’

सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रुपमा लमही–कोइलावास सडकको नामकरण शहीद मार्गको रुपमा भएको भन्दै यसको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताउनुभयो ।‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो’ उहाँले भन्नुभयो, ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ ।’

सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागी काम गर्ने जनाएको छ । लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ करोड बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरुले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस