नागरिकको निराशा सम्बोधन गर्न कांग्रेस–एमाले गठबन्धन : महासचिव पोखरेल

दाङ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकको निराशा सम्बोधन गर्न कांग्रेस–एमाले गठबन्धन भएको बताएका छन् । प्रेस दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वर्तमान राजनीतिक व्यवस्थाप्रति नै वितृष्णा सिर्जना हुन थालेपछि ठूला दल मिलेर उचित पहल कदमी लिनुपरेको उनले बताए ।

वामपन्थी एकता असफल भैसकेपछि फेरी त्यही बाटोमा हिँड्दा नागरिकमा विश्वास पैदा नहुने भएकाले नयाँ गठबन्धन गर्नुपरेको उनले बताए । सरकार परिवर्तनको अस्थिरता बढ्दै जाँदा देशको आर्थिक संकट लगायतका समस्या बढेपछि ठूला दलले नै जिम्मेवारी लिन जरूरी भएको उनले बताए ।

‘सत्तामा साना दलले बार्गेनिङ गरेर सरकार तलमाथि पार्ने र १० सिट जितेको दलले प्रधानमन्त्री दाबी गर्ने अवस्था आएपछि जनमतको कदर गर्न ठूला दल नै सत्ताको नेतृत्वमा जान आवश्यक भएको हो,’ उनले भने । लोकतन्त्र बलियो हुन दल बलियो हुन जरूरी रहेको उल्लेख गर्दै उनले पुष्पकमल दाहालको अहंकारी सोच र प्रवृत्तिका कारण ठूला दल एक ठाउँमा आएको उनले बताए ।

३२ सिटलाई म्याजिक नम्बर भन्दै ठूला दललाई खेलाएर ५ वर्ष सरकारको नेतृत्वमा रहने जस्ता अहंकारी अभिव्यक्ति दिन थालेपछि लोकतन्त्रको मजाक हुन नदिन ठूला दल मिल्नुपरेको उनले बताए ।

‘शुरूमा माओवादीलाई पनि सरकारमा समेट्ने गरी गठबन्धन गरेकोमा त्यससाई दाहालले षड्यन्त्र ठानेपछि सम्भव नभएको हो,’ उनले भने, ‘अहिलेको गठबन्धन २०८४ मा एक दलले बहुमत प्राप्त गरेर ५ वर्ष सरकार चलाउन पाउने गरी गरिएको हो ।’

राजनीतिक स्थायित्वका लागि यस्तो खालको सुधार आवश्यक रहेको र यसका लागि ठूला दलले नै पहल गर्न जरूरी रहेको उनले बताए । दुई ठूलादल बलियो हुँदा लोकतन्त्र कमजोर नहुने र बहुदल भनेको साना धेरै दल भन्ने अर्थ नरहेकोबारे सबै स्पष्ट हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस