दाङमा ८६ वटा एम्बुलेन्स सञ्चालनमा, मापदण्ड नपुगेरै चल्छन् धेरै

घोराही– दाङमा मापदण्ड नपुगेका एम्बुलेन्स धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ४ गते पत्र काट्दै मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न देशभर दिएको निर्देशन सँगै जिल्लामा रहेका धेरै एम्बुलेन्स मापदण्ड अनुसार नचलेको पाइएको हो।

जिल्लामा सबै मापदण्ड पुगेका एकरदुईवटा भन्दा धेरै एम्बुलेन्स नरहेको एम्बुलेन्स चालक संघका जिल्ला अध्यक्ष सुवास रिजालले बताउनुभयो । उहाँले राज्यले तोकेको मापदण्ड पालनासँगै भाडा समायोजन पनि हुनुपर्ने बताउनुहुन्छ । दाङमा ८६ एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

जिल्लामा सबै भन्दा धेरै ग बर्गका एम्बुलेन्स छन् । राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ ले ग बर्ग नै हटाएर क र ख वर्ग मात्रै राखेको छ भने ग बर्गका एम्बुलेन्सलाई स्तरोन्नति गर्न ९० दिनको समय दिइएको छ । स्तरोन्नति नभए बिरामी बोक्ने गाडीको रुपमा मात्रै ती सवारी चल्नेछन ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले डाइलाइसिस गर्ने, थेरापी गर्ने जस्ता नियमित अस्पताल जानुपर्ने जस्ता बिरामी मात्रै उक्त सवारीमा बोक्ने व्यवस्था भएको बताउनुहुन्छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कँवरले हालसम्म दाङमा ६३ वटा एम्बुलेन्स ग बर्गको रुपमा रहेको जानकारी दिनुभयो । ती सबै ग बर्गका एम्बुलेन्सले मापदण्ड पुर्‍याएर बर्ग स्तरोन्नति गर्न नसके एम्बुलेन्सका रुपमा चल्न पाउने छैनन् ।

सरकारी रेकर्ड अनुसार दाङको एउटा मात्रै क वर्गमा दर्ता छ भने ख वर्गमा दर्ता भएका छवटा मात्रै एम्बुलेन्स छन् । मापदण्डले अनिवार्य गरेको जिपिएस जडान गरेका एम्बुलेन्स दाङमा तीनवटा मात्रै छन् । एउटा क वर्गको र दुईवटा ख वर्गका एम्बुलेन्सले मात्रै जिपिएस जडान गरेका छन् ॥

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस