लुम्बिनीमा मन्त्री बन्न कांग्रेस र एमालेमा लबिङ

बुटवल — एमाले नेतृत्वमा सोमबारनै लुम्बिनी प्रदेश सरकार गठन हुने भएपछि दुई ठूला दल एमाले र कांग्रेसमा सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नेको दौडधुप सुरु भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमाले संसदीय दलका नेता लीला गिरीले दोस्रो पटक सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीमा सोमबार नै दाबी पेस गर्ने तयारी छ । लुम्बिनी प्रदेश सभाका १० दल मध्ये ७ दलका ६९ जनाको समर्थनमा गिरी सोमबार नै मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना छ ।

मन्त्रिमण्डल एकैसाथ गठन गरेर सरकारको स्थायित्वको सन्देश दिने गरी सत्ता साझेदार एमाले कांग्रेसले आइतबार नै सहमति गरेका छन् । लुम्बिनीमा १२ मन्त्रालय छन् । स्रोतका अनुसार दुई ठुला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भइसकेको छ ।

५/५ मन्त्रालय एमाले कांग्रेसले लिने र २ मन्त्रालय सरकारलाई समर्थन गर्ने साना दलहरूलाई दिने दुई दलको तयारी छ । साना दललाई बिना सर्त सरकारलाई समर्थन गर्न उनीहरूले आग्रह गरिरहेका छन् । सोमबार बिहानसम्म एमाले नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति, जनमत, जसपा, जसपा नेपाल र लोसपाले समर्थन गर्ने जनाएका छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जनमत र लोसपाका ३/३, जसपाका २ र जसपा नेपालका १ प्रदेश सभा सदस्य छन् । ४ सदस्य रहेको राप्रपाले कुनै निर्णय गरेको छैन । माओवादीका १०, १/१ प्रदेश सभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सोमबार मुख्यमन्त्रीको नियुक्ति हुने र बुधबार शपथग्रहण गर्ने गरी दलहरूले तयारी गरिरहेको बताए । सबै मन्त्रीहरूको पनि एकै साथ टुंगो लगाएर एकै दिन मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण गराउने गरी बुधबारलाई शपथग्रहणको समय निर्धारण गरिएको उनले बताए ।

‘हामीले सकेसम्म स्थायित्व सहितको सरकार हो भन्ने सन्देश दिने र जनतालाई आशा जगाउने गरी काम गर्न खोज्दै छौं,’ उनले भने, ‘त्यसैले मन्त्री छनोटका लागि एक दिनको समय राखेर सबै टुंगो लगाएर शपथ गराउने हो ।’

सरकार गठनको तयारीसँगै कांग्रेसबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नेहरूको लबिङ र दौडधुप पनि सुरु भएको छ । कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की र दाङका राजु खनाल मध्ये एक जनाले सरकारको नेतृत्व गर्ने सम्भावना छ । खनाल यसअघि स्वास्थ्यमन्त्री बनेका थिए । आर्थिक मामिला मन्त्रालय लिएर खनालले नै नेतृत्व गर्न सक्ने सम्भावना रहेको स्रोतले बतायो । खनाल संस्थापन इतर र कार्की संस्थापन पक्षका हुन् ।

कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा), बाँकेका बादशाह कुर्मी पनि मन्त्री बन्दै छन् । कार्की, खनाल, थापा र कुर्मी मन्त्री बन्ने निश्चत जस्तै छन् । त्यसबाहेक पाल्पाका बिरबहादुर राना, बर्दियाका भुवनेश्वर चौधरी र दाङका प्रचण्ड विक्रम न्यौपाने पनि मन्त्रीको लबिङमा छन् । कांग्रेसले ५ मन्त्रालय पाएको अवस्थामा राना, चौधरी र न्यौपाने मध्ये एक जना मन्त्री बन्ने कांग्रेसका एक नेताले बताए ।

त्यस्तै एमालेमा पनि मन्त्रीका आकांक्षीहरू धेरै छन् । मन्त्रीका लागि रूपन्देहीका भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी मन्त्रीका आकांक्षी छन् । ढकाल यस अघि सहरी विकास तथा खानेपानी मन्त्री थिए । श्रेष्ठ पूर्व मन्त्री हुन भने प्रमुख सचेतक रहेका चौधरी अहिलेसम्म मन्त्री बनेका छैनन् । त्यस्तै मन्त्रीका लागि यसअघिका सामाजिक विकासमन्त्री बाँकेका रत्न खत्री र बाँकेकै बसन्ती न्यौपाने पनि आकांक्षी छन् ।
कपिलवस्तुका विष्णु पन्थी र गिरीधारीलाल न्यौपाने, गुल्मीका डिल्लीराज भुसाल र दीनेश पन्थी पनि मन्त्रीका आकांक्षी हुन् । दुई ठूला दललाई मन्त्रिपरिषद् समावेशी बनाउनु पर्ने बाध्यता छ । त्यस्तो अवस्थामा कांग्रेसबाट प्युठानकी निमा गिरी वा बाँकेकी सन्जुकुमारी चौधरी मध्ये एक जना मन्त्री बन्न सक्छन् । एमालेबाट बसन्ती न्यौपानेको सम्भावना छ ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मन्त्रालयको संख्या र मन्त्रालयको बाँडफाँडको टुंगो सोमबार मुख्यमन्त्री नियुक्त हुनु भन्दा अगाडि नै लाग्ने बताए । ‘अहिलेसम्म छलफल मात्र चलिराखेको छ, टुंगो भएको छैन्,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्त हुनु भन्दाअघि हामी छलफलका लागि बस्दै छौं, सम्भवत त्यहीँबाटै टुंगो लाग्छ ।’ सकेसम्म दुवै दलबाट मन्त्रीहरूको पनि नाम टुंगो लगाएर बुधबार एकैपटक सबैको शपथग्रहण गराउने दुई दलबीच सहमति भइसकेको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस