नेपालगंज मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू

नेपालगन्ज । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालमा मात्र लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बमोजिम साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले यसअघि पनि सो अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम चलेको जनाउँदै बिचमा केही समयका लागि बन्द भएपनि फेरी सञ्चालनमा आएको बताउनुभयो ।

उपनिर्देशक डा. श्रेष्ठका अनुसार स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा कोहलपुर क्षेत्रका बिरामीलाई ठुलो समस्या भएको थियो । सोही कारणले भेरी अस्पतालमा धेरै बीमा गराएका धेरै बिरामी पुग्दा सेवा दिन समस्या भएको गुनासो पटक पटक सुनिएको थियो ।

उता, भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले स्वास्थ्य उपचारका लागि बाँके जिल्लाको महत्वपुर्ण स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा फेरी स्वास्थ्य बीमा लागु गरिएपछि अब भेरी अस्पताललाई सहज हुने बताउनुभयो । उहाँले भेरी अस्पतालले सिमिति जनशक्तिबाट सो कार्यक्रममा आवद्ध बिरामीलाई सेवा दिनु परेकोले धेरै बिरामी आउँदा समस्या हुने गरेकोमा अब कोहलपुरले पनि सेवा सुरु गरेपछि सहज हुने बताउनुभयो ।

साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेज सहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिन सुरु गरेका छन् । २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस