घोराही– नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले विद्यार्थीमा वर्गीय दृष्टिकोण जरुरी रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङको छैठौं पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै आचार्यले यस्तो बताउनुभएको हो । प्रमुख अतिथि आचार्यले विद्यार्थीमा वर्गीय दृष्टिकोण भएपछि मात्रै विद्यार्थी संगठन बलियो हुने बताउनुभयो ।
नेता आचार्यले विद्यार्थीहरुले विभिन्न क्षेत्रको अध्ययन गरी समाजमा सकारात्मक सन्देश दिने खालको काम गर्नुपर्ने बताउनुभयो । देश विकासमा नेपालभर माओवादी एक ढिक्का भएर अगाडि बढिरहेको र अहिले वर्तमान सरकार ढल्नुमा प्रधानमन्त्री प्रचण्डको कुनै दोष नभएको बताउनुभयो ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक गिरबहादुर महराको अध्यक्षतामा बसेको बैठकमा पालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन र २३ औं राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल भएको थियो । बैठकले आउँदो भदौ ९ गते हुने दाङ जिल्लाको अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।
गिरबहादुर महरा संयोजक रहेको ४ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ भने गोविन्द मल्ल संयोजक रहेको ६ सदस्यीय प्रतिनिधि प्रमाणिकरण उपसमिति, हिमाल महरा संयोजक रहेको १० सदस्यीय व्यवस्थापन उपसमिति, डिभाइड शर्मा संयोजक रहेको स्वयंसेवक उपसमिति र नरेन्द्र केसी संयोजक रहेको निर्वाचन उपसमिति गठन भएको छ ।
यस्तै बैठकमा दाङका सम्पूर्ण पालिका, विभिन्न क्याम्पसहरुको अध्यक्ष तथा संयोजकहरुले समग्र पालिका र क्याम्पसहरुको बारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्ट, नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक हरिमान पुन (वरुण), घोराही नगर इन्चार्ज तुल्सी डाँगीलगायतले बोल्नु भएको थियो । संगठनका केन्द्रीय सदस्य हिरालाल वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सदस्य गोविन्द मल्लले गर्नुभएको थियो ।


