तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एक थान मोटरसाइकल हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै एक थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले पछिल्लो समय तुलसीपुर बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्न थालेको भन्दै अपराध न्यूनिकरण गर्ने उद्देश्यले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ कार्यक्रम अन्तर्गत प्रहरीलाई एक थान मोटरसाइकल हस्तान्तरण गरेको बताए । मेला महोत्सवबाट बचत भएको केही बजेटबाट बजाज कम्पनीको १२५ सिसीको पल्सर मोटरसाइल हस्तान्तरण गरेको उनले बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दमकल खरिद गरेको खण्डमा उद्योग वाणिज्य संघले १० लाख रकम सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरेका छन् । साथै दोस्रो चरणमा तुलसीपुर बजारको ‘क’ लाइनमा जडान भएका सोलार बत्तीलाई मर्मत गर्नुका साथै हाइमास्टर लाइट जडान गर्न उपमहानगरसंग समन्वय भैसकेकाले केहीदिन भित्रै यो कार्य प्रारम्भ हुने पनि बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरवासी र व्यवसायीको सुरक्षा अपराध नियन्त्रण गर्ने जिम्मा स्थानीय सरकारको पनि हो त्यसको प्रयास निरन्तर भैरहेको बताएका छन् । व्यवसायीको सुरक्षाको मुख्य प्रविधिको स्रोत भनेको सिसीटिभी क्यामरा हो, यसको जडान यसअघि पनि भएका छन् । सिसीटिभी क्यामरा जडान नभएका स्थानमा सिसीटिभी जडान गछौं प्रमुख खड्काले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले निजी क्षेत्रको सूचना र सहयोगबाट मात्रै हामी सुरक्षित हुन सक्ने पनि जिकिर गरे । तुलसीपुर क्षेत्रमा सुरक्षाको गतिविधिमा नजर जाने गरेर उद्योग वाणिज्य संघ, प्रहरी र स्थानीय सरकारको साझेदारीमा काम गर्नु पर्ने बताए ।
त्यस्तै प्रमुख खड्काले सुरक्षाका लागि उवा संघले चालेको यो कदम एकदमै सह्रानीय रहेको बताए । साथै उनले प्रहरी पनि सरकारकै हामी पनि सरकारकै भएकोले मोटरसाइकल दिनु पर्छ भन्ने कुरामा हामी मिलेर जान तयार रहेको पनि जिकिर गरे ।
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले शहर सुरक्षित बनाउनका लागि सिसीटिभी क्यामरा जडान आवश्यक रहेको बताएका छन् । उद्योग वाणिज्य संघले प्रदान गरेको करिब तीन साढे तीन लाखको मोटरसाइकलले ३ लाख जनताको सुरक्षा गर्ने पनि बताए ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उद्योग वाणिज्य संघलाई सिण्डीकेटको आरोप लागेको थियो तर सामाजिक काम गरेर त्यसलाई चिरफार गरिदिएको बताए ।
त्यस्तै कार्यक्रममा प्रेस यूनियन दाङका अध्यक्ष नारायण खड्का, पूर्वअध्यक्ष टेकन बस्नेत लगायतकाले बोलेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।


