एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।

दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड अर्थात् एनजी आएको छ । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

१६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीले दुई विषयसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।

जुन विषयमा एनजी भएको हो त्यही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ  ।।

प्रकाशित मिति : २०८१ असार १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस