दाङ । लायन्स क्लब अफ दाङ क्यापिटलले आगलागी पीडितको घर निर्माण गरि हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ शिमलखुटी स्थित अग्नि पीडित निर्मला महताराको घर निर्माण गरि बिहिबार लायन्स क्लब अफ दाङ क्यापिटलले घर हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष मोहनलाल पौडेलले हरेक वडा बासीकै साथमा वडा सरकार रहेको बताएका हुन । आफुले लायन्स क्लब अफ दाङ क्यापिटलसँगै समन्वय गर्दा आज घर निर्माण गर्न सफल भएको बताएका हुन । यस्तै आगामि दिनमा पनि क्लबले आफ्नो वडा भित्र गरिने सामाजिक कार्यका लागि वडासँगै स्थानीय सरकार साथमै रहेको समेत बताएका हुन ।
यस्तै कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीले आफुहरु आगो लागेर घर जलेको खबर पाएपछि अबलोकन गर्न यस ठाउँमा आएको तर आफुहरुले सोचेको भन्दा फरक दृश्य र घर परिवारको अवस्था निकै कमजोर पाएपछि आफ्नो टिमले घर निर्माण गरिदिने निर्णय लिएको अनुरुप नै आफूहरुले घर निर्माण गरिदिएको बताए ।

लायन्स क्लब अफ दाङ क्यापिटलले स्थापना कालदेखिनै निस्वार्थ भावनाका साथ सामाजिक कार्य गर्दै आइरहेको बताउदै अहिले भौगोलिक हिसाबले पनि निकै विकट मानिने यो ठाउँमा आफ्नो टिमले अग्नि पीडितको घर निर्माण गर्न पाउँदा आफूसँगै सिङ्गो टिम खुशी भएको बताएका हुन ।
यस्तै आफुहरुको संचालन गरेको घर निर्माण अभियानलाई आर्थिकसँगै भौतिक सहयोग गर्ने वडा नं १३ लगायत सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
यस्तै अग्नि पीडित निर्मला महताराले आफ्नो कोहि नहुदा लायन्स क्लब अफ दाङ क्यापिटल आफ्नो सहारा बनेको बताएकी हुन । केहि समयदेखि श्रीमान कारागार हुँदाको पीडा माथि झन आगो लागेर घरसँगै वर्षभरि दुःख गरेर उब्जाएको सबै खानेकुरा आगोले खाइदिएको थियो तर आज कल्पनै नगरेको आफ्नो घर निर्माण गरिदिंदा आफू धेरै खुशी भएको भन्दै क्लबलाई विशेष धन्यवाद समेत व्यक्त गरेकी हुन ।
यस्तै नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले लायन्स क्लब अफ दाङ क्यापिटलले गरेको यो कार्य नै महान कार्य भएको बताइन् । समाजमा सकारात्मक प्रभाव छार्न क्लबले खेलेको हरेक भूमिकालाई अझ माथि उठाउन संचार क्षेत्रबाट आफूहरु सधै साथमा रहेको प्रतिबद्धता समेत व्यक्त गरिन् ।
लायन्स क्लब अफ दाङ क्यापिटलका द्वितीय उपाध्यक्ष डम्बर केसीको स्वागत मन्तव्यबाट सुरु भएको घर हस्तान्तरण कार्यक्रमको सहजीकरण कोषाध्यक्ष प्रकाश भुसालले गरेका थिए ।


