प्रतिष्ठानमा फार्मेसी, दर्ता र विलिङ काउन्टर थप

घोराही–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी, नाम दर्ता र विलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा आउने बिरामीको संख्या बढ्दै जाँदा नाम लेखाउने, विलिङ गर्ने र औषधि किन्ने ठाउँमा भिडभाड हुन थालेपछि काउन्टर थप गरिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो ।

अस्पतालमा भिडभाड हुँदा सेवा प्रवाहमा असहजता थपिएको बिरामीबाट गुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने प्रयास स्वरुप अहिले नयाँ फार्मेसी भवनमा ६ वटा काउन्टर थप गरिएको हो । यसअघि प्रतिष्ठानले ५ वटा काउन्टरवाट औषधि किन्न आउने बिरामीहरुलाई सेवा प्रवाह गर्दै आइरहेको थियो ।

प्रतिष्ठानका फार्मेसी इञ्चार्ज अशोक सुवेदीले नयाँ फार्मेसी भवनमा जनशक्तिसहित काउन्टर थप भएपछि विरामीको सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीहरुको नाम दर्ता र विलिङमा थप २ वटा काउन्टर थपिएको छ । नाम दर्ता र विलिङमा पनि अत्यधिक भिड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई समाधान गर्न २ वटा काउन्टर थप गरिएको हो । हाल प्रतिष्ठानमा दैनिक ७ सय बढी बिरामीले विशेषज्ञ सेवा पाइरहेका छन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस