प्रतिनिधिसभाको आइतवार र सोमवारको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।
सभामुख निवास बालुवाटारमा आइतवार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्न दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।
बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएको संसद् सचिवालयले जनाएको छ ।


