कृषकलाई प्रोत्साहन गर्नु पर्छ- कार्यबाहक नगर प्रमुख योगी

लमही । ‘स्वस्थ पशु उत्पादन, दिगो आम्दानीको आधार’ भन्ने मुख्य नारा सहित हरेक वर्ष जस्तै यो वर्ष पनि लमही नगरपालिकाको पशु सेवा उपशाखाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

निशुल्क शिविर कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले पशुपालक किसानहरुका लागि मागप्रति लमही नगरपालिका गम्भीर भएको बताउनु भयो । सरकारको तीन खम्बे अर्थानितीलाई सहयोग गरिरहेको कृषि र किसानहरुको हक हित र उत्थानका निमित्त स्थानीय सरकार सदैव चिन्तनशील रहेको उहाँको भनाई छ । किसानलाई प्रोत्साहन गर्नु पर्छ, किसानका हक हित र संरक्षणका निम्ति सरकार प्रयत्नशील रहेको उहाँको भनाई छ ।

लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेलले लमही नगरपालिकाले वार्षिक रुपमा पशु स्वास्थ्य निशुल्क शिविर कार्यक्रम गर्दै आएको बताउदै किसानका गाई, बाख्रा, भैसिलाई सहज रुपमा घरमै उपचार गर्न मिलोस भनेर वडाको दुई स्थानमा शिविर संचालन गरेको वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भयो ।

आगामी साउन देखि वडा नम्बर १,२ र ३ सम्म हेर्ने गरि पशु र कृषि सम्बन्धि डाक्टर सहितको सेवा प्रदान गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलको भनाई छ ।

वडा नम्बर ५ र ६ बाहेकका वडाहरुमा एक दिने नि:शुल्क बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर संचालन पश्चात आज शिविर सकिदैछ । लमही नगरपालिका पशु सेवा उप-शाखाको आयोजनामा वडा नबर १, २,३,४,७,८ र ९ नम्बर वडामा नि:शुल्क शिविर संचालन गरेको थियो । वडा नम्बर ५ र ६ मा पशु सेवा उप-शाखाको कार्यालय भएकोले त्यहाँ शिविर नगरेको लमही नगरपालिका पशु सेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले बताउनु भयो । शिविरमा झन्डै ११ हजार पशुहरुको नि:शुल्क बाँझोपन निवारण तथा पशु उपचार भएको छ ।

पशु शिविर आयोजना गरेर लमही नगरपालिकाले कृषकलाई सहजता प्रदान गरेको स्थानीय पशु पालक जिवा सुवेदीले बताउनु भयो । ठुला ठुला रोगको उपचार गर्न किसानलाई कठिन हुने गरेको भन्दै यो समस्यामा ध्यान दिन लमही नगरपालिकालाई सुझाव दिनु भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस