दाङ – लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले केही व्यक्तिका कारण सहकारी बदनाम भएको बताउनु भयो ।
उद्यमशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बुधबार लमहीमा आयोजना गरेको सहकारी संस्थाले संचालन गरेका कृषि परियोजनाहरुले यस क्षेत्रमा पारेको प्रभाव, वर्तमान अवस्था र आगामी कार्ययोजना सम्बन्धमा समिक्षात्मक अन्तरक्रिया र सार्वजनिक छलफल कार्यक्रममा बोल्दै मंत्री बस्नेतले एकाध व्यक्तिहरुले आफ्नो स्वार्थका लागि हिलो छ्याप्ने काम भएको बताउनु भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेतिका लागि लमही नगरपालिकाको क्षेत्र उर्वर भूमि भएको बताउनु भयो । मल बीउ र सिंचाई सहि समयमा किसानले पायो भने कृषि प्रणालीमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो । सहकारीहरूले आफ्नो मूल्य मान्यताहरु के के हुन् ? सहकारीका अन्तराष्ट्रिय सिद्दान्त के हुन् ? कस्ता व्यक्ति सहकारीका सदस्य बन्न सक्छन ? यावत कुराहरु संचालकहरुले बुझ्न अति आवश्यक रहेको बताउनु भयो । राज्यले किसानका सवालमा गम्भीर बन्नु पर्ने बताउदै किसानको सम्मान हुनु पर्ने बताउनु भयो । किसानका उत्पादित वस्तुहरुको बजारीकरणका लागि पालिकाले हाट बजारको अवधारणा लिएको उहाँको भनाई छ ।
नेपाली बजारमा दोस्रो मुलुकबाट आयातित हुने वस्तुहरुलाई निरुत्साहित गरि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको योगीले बताउनु भयो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेत, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, सहकारी डिभिजनका प्रतिनिधि लगायत थुप्रै कार्यालयका प्रमुखहरुले मकै खेतीको स्थलगत अवलोकन गर्नु भएको थियो ।
उद्यमशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्ष तथा कृषि सहकारी, उद्योग र पर्यटन मन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विश्वराज अधिकारीले गर्नु भएको थियो ।


