दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको ७ वर्षपछि एमबीबीएस तहको अध्यापन गराउने तयारी तीव्र पारेको छ । प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रम पनि तयार पार्दैछ ।
धुलिखेलमा शनिबारबाट जारी चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानले यही शैक्षिक सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने ‘सेल्फ अप्राइजल पास’, अत्याधुनिक ल्याव, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ । एमबीबीएसकै लागि फ्याकल्टी निर्माणदेखि लेक्चरर, असिष्टेन्ट प्रोफेसर, एशोसियट प्रोफेसर र प्रोफेसरलाई धमाधम प्रतिष्ठानमा ल्याउने काम तीव्र गतिमा चलिरहेको रजिष्ट्रार लम्सालले बताए ।
‘सकेसम्म यही शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालनको तयारी गरेका छौं, त्यसको एउटा महत्त्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अब अन्तिमरुप दिएर फाइनल हुन्छ,’ लम्सालले भने।
प्रतिष्ठानले अहिले भएकै र हायर गरेको जनशक्तिबाट एमबीबीएस अध्यापन गराइने तयारी पनि गरेको छ भने प्रयोगशाला, कक्षाकोठालगायतका पूर्वाधार भने थप गर्न लागिएको उनको भनाइ छ ।
प्रतिष्ठानले अहिले एमडी–एमएस, नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।
२०७४ सालमा प्रतिष्ठानको ऐन जारी भएपनि सुरुवाति पाँच वर्षसम्म कुनैखालको शैक्षिक कार्यक्रम प्रतिष्ठानले सञ्चालन गर्न सकेको थिएन । उपकुलपति लामिछाने नेतृत्वमा आएपछि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरू अघि बढेका छन् ।
यसैबीच कार्यशाला गोष्ठिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत देशभरका ८ वटा प्रतिष्ठानका उपकुलपतिहरुले साझा विषयमा सहकार्य गर्ने लिखित समझदारी गरेका छन् ।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले शिक्षा, सेवा, जनशक्ति व्यवस्थापन र अनुसन्धानको क्षेत्रमा आपसी सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेसहित मुलुकभरका ८ जना उपकुलपतिले गरेको र त्यो कार्यान्वयनमा आउने पनि बताए ।
साथै उनले पाठ्यक्रमलाई अन्तिमरुप दिन सबै प्रतिष्ठानका विज्ञ चिकित्सकसहीतको कार्यदल पनि बनाइने बताए ।


