मावि सेन्टरमा कार्यरत शिक्षक कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने ( भिडियो सहित )

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुरमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा बढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको सल्लाह बमोजिम आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेका हुन् ।

आइतबार पत्रकार भेटघाट कार्यक्रममा आफ्ना छोरीछोरी सरकारी विद्यालयमा नपढाउने शिक्षक कर्मचारी सरुवा भएर जान सक्ने विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । त्यस्तैगरी शैक्षिक सत्र २०८१ देखि विद्यालयमा जनरल नेपाली, अंग्रेजी र विशिष्ट अंग्रेजी गरी तीन श्रेणीमा पढाइ हुने जानकारी दिए ।

विगतका वर्षहरुमा क्रमश शैक्षिक सुधारका अभियान सञ्चालन हुँदै आएको र उत्कृष्ट नतिजा ल्याउन सफल भएका कारण पनि विद्यार्थीहरुको चाप बढेको प्रधानाध्याक पौडेलले बताए । उनकाअनुसार विद्यार्थीको संख्या अत्यधिक बढ्न थालेपछि भर्ना नै राक्ने अवस्थामा पुगेको छौं । तर, विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा हामी प्रतिबद्ध छौं ।

अन्य सरकारी विद्यालयहरु भन्दा फरक तरिकाले अध्यापन तथा व्यवस्थापन गरेकाले पनि तुलसीपुर सेन्टरमा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक पौडेलले बताए । साथै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै जीवनउपयोगी, व्यवहारिक शिक्षामा समेत ध्यान दिएको उनले बताए ।

साथै उक्त विद्यालयमा प्राविधिक धारतर्फका विभिन्न विषयमा पढाइ भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस