लुम्बिनीमा सानो आकारको मन्त्रिमण्डल गठन हुँदै, यी हुन् शपथको तयारीमा रहेका मन्त्री

दाङ– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार सानो आकारमा मन्त्रिमण्डल गठन गर्दैछन्। आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथ लिएपछि थप तीन जना मन्त्रीले शपथ लिनेछन्।

नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना मन्त्रीको पनि शपथ हुने स्रोतले जनाएको छ।

एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्न थालेका हुन्। पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको खुलेको छ।

जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ। यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस