श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेगरी तोक्ने निर्णय

काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेगरी तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसअघि श्रम अदालतको मुकाम काठमाडौँमा रहने भनिएकोमा त्यसलाई काठमाडौँ उपत्यकामा रहनेगरी तोक्ने निर्णय भएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरीका प्राध्यापक डा। पशुपति चौधरीलाई र सदस्यमा सिराहाका डा। वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै बैठकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापाका डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

गृहमन्त्रीको सम्बन्धमा संसदमा उठिरहेको संसदीय छानविन समिति गठनको मागका विषयमा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता सञ्चार मन्त्री शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले स्वयंमले पनि त्यस विषयमा स्पष्ट विचार राखिसक्नु भएकाले संसदीय छानविन समिति गठन गर्नुपर्ने अवस्था नरहेकाले गठन नभएको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस