दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीबीचचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
दाङ जिल्लामा भइरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनु भयो ।
आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न उहाँको आग्रह थियो । सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उहाँले जिल्लामा विकास निमार्णका लागि आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरूमा आफूले ध्यान दिइरहेको शर्माले बताउनुभयो ।
यस्तै कर्मचारीहरूले पनि देश र जनताप्रति इमानदार भई सरकारका नीति तथा कार्यक्रमहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । साथै उहाँले समग्र जिल्लाको विकासका लागि सङ्घीय सरकारले गर्ने हरेक प्रकारको सहयोगमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।


