तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालमना आएका अटो रिक्सालाई थप व्यवस्थित तुल्याइने भएको छ । पालिकाका विभिन्न रुटहरुमा सञ्चालनमा आएका अटो रिक्सालाई पालिकाले व्यवस्थित तुल्याउनका लागि सोमबार सरोकारवालाबीच छलफल गरेको छ ।
उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको हो । पालिकाले अटो रिक्सा व्यवस्थित तुल्याउनका लागि कार्यविधि समेत तयार पारेको छ । अटोको भाडादरलाई परिमार्जन गर्ने, अटोको रुट कायम गर्ने र पालिकामा सूचीकरण विषयमा छलफल भएको थियो । त्यस्तै अन्तरपालिका अटो सञ्चालनका विषयमा समेत छलफल भएको थियो ।
उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले अटो रिक्सा पालिकाभित्र सूचीकरण अनिवार्यरुपमा गर्न त्यसो नभए कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले सरोकारवालाबीच समन्वय,छलफल गरेर २०७८ सालमा तयार गरिएको भाडादरलाई पुर्न परिमार्जन गरिने बताउनुभयो ।
नगरप्रमुख खड्काले अटो रिक्सा सहायक मार्गमा मात्रै सञ्चालन गर्नका लागि रुट कायम गर्ने व्यवस्था भएकाले राजमार्गमा सञ्चालन नगर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमालले ऐन,कानुनले तोकिएबमोजिम अटो व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले सेवाग्राहीलाई हेरेर शुल्क लिने गरिदै आएकोमा अब भने भाडादरअनुसार कार्यान्वयन गर्नका लागि आग्रह गर्नुभयो । उहाँले सबै व्यवसायीहरुले रुट,सूचीकरण,बीमा,सवारी चालक अनुमति पत्रलगायत सम्पूर्ण कागजपत्र तयार पारेर मात्रै सञ्चालनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका वडाध्यक्ष सुकलाल चौधरीले पालिकामा सूचीकरणका लागि कार्यविधि तयार पारेर अघि बढ्ने बताउनुभयो । उहाँले व्यवसायीले मनलाग्दी तरिकाले सेवाग्राहीबाट भाडा लिने गरेकाले त्यसलाई अनुगमन गर्नुपर्ने बताउनुभयो । अटो व्यवसायी छवि चौधरीले प्रदेश र स्थानीय दुवै तहबाट शुल्क नलिई एकै ठाउँबाट मात्रै शुल्क लिनुपर्ने बताउनुभयो । उहाँले सहायक मार्गमा अन्तरपालिकाभित्र समेत अटो सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा शान्तिनगर, दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवस्था कार्यालय, इलाका प्रशासन, इलाका प्रहरी कार्यालय,अटो व्यवसायी प्रालिबीच छलफल गरिएको थियो ।


