प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनधिसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजन प्रकृयामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । यसैगरी विपक्षमा ११० मत परेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राख्नु भएको विश्वासको प्रस्ताव पारित भएको घोषणा गर्नु भयो ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले तेश्रो पटक विश्वासको मत लिनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।

सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो । यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस