तुलसीपुरमा हुने संस्कृति ज्ञान परीक्षाको तयारी पुरा

शरद रेग्मी, तुलसीपुर । दाङको तुलसीपुरमा फागुन ३० गते बुधबार हुन लागेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको तयारी पुरा भएको हिन्दु स्वयंसेवक संघ नेपाल दाङका अध्यक्ष किशोर चन्द्र गौतमले जानकारी दिनुभयो । संस्कृति ज्ञान परीक्षामा यस क्षेत्रका करिब बाह्र सय विद्यार्थीहरुको सहभागिता रहने छ ।

तुलसीपुरको अरनिको मैदानमा बिहान ११ बजेदेखि परीक्षा सुरु हुने कार्यतालिका सार्बजनिक भएको परीक्षाका सञ्चालन समितिका संयोजक प्रमोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

परीक्षामा प्रथम हुने विद्यार्थीले नगद पन्ध्र हजार पुरस्कार प्राप्त गर्नेछन । त्यसैगरी द्वितीय स्थान हासिल गर्ने विद्यार्थीले १२ हजार र तृतीय स्थान हासिल गर्ने विद्यार्थीले नौ हजार रुपैया प्राप्त गर्ने छन । त्यसैगरी पच्चिस जना विद्यार्थीहरुले सान्त्वना पुरस्कार स्वरुप एक हजारका दरले नगद रुपैया प्राप्त गर्नेछन ।

परीक्षामा सहभागी हुँदा प्रत्येक विद्यालयले एक जना शिक्षक विद्यार्थीहरुको प्रबेश पत्र सहित अनिवार्यरुपमा सहभागी गराउन समेत आयोजकले आग्रह गरेको छ । पूर्वीय दर्शन, हिन्दुत्व, हाम्रो परम्परा र धर्म संस्कृतिको प्रचार प्रसार र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित देशभर सुरु भएको विवेकानन्द संस्कृति ज्ञान परीक्षामा यस क्षेत्रमा पनि उत्साहजनक सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्न जनजाति कल्याण आश्रमका केन्द्रीय महासचिव प्रेम थुलुङ तुलसीपुर आउने कार्यक्रम तय गरिएको छ । यसैबीच कार्यक्रममा सहभागी भइदिनका लागि आयोकले सरोकारवाला सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस