तेस्रो हिरा डाँगी स्मृति कप फुटबल : राईजिङ स्टार र साहारा सेमिफाइनलमा

लक्ष्मण बस्नेत, तुलसीपुर । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ ईन्डिया तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको बिहिबार सम्पन्न क्वाटर फाईनल खेलमा फर्साटिकर फुटबल क्लब रुपन्देहीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै राईजिङ स्टार फुटबल क्लब घोराहीले सेमिफाइनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धात्मक खेलको १९ औं र ४८ औं मिनेटमा राईजिङ स्टारका जर्सी नं. ११ का जमिर मिया टिमलाई २–० को अग्रता दिलाए । खेलको दोस्रो हाफ्मा आक्रमक रुपमा प्रस्तुत भएको फर्साटिकरका तर्फबाट खेलको ८७ औं मिनेटमा जर्सी नं. २६ का बालराम न्यौपानेले जवाफी गोल गरे । खेलमा राईजिङ स्टारका जमिर मिया म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा युएनबिसी फुटबल क्लब घोराहीलाई २ का ३ गोलले पराजित गर्दै साहारा फुटबल क्लब लखनउले सेमिफाइनल तय गरेको हो । कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ११ औं मिनेटमा युएनबिसीका जर्सी नं. १२ का दिवश छन्त्याल गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने जर्सी नं. ८० का पुष्कर खड्काले पहिलो हाफको थप ३ मिनेटमा पेनाल्टि अवसरको सदुपयोग गर्दै गोल गर्न सफल भए ।

गोल गर्ने थुप्रै अवसर गुमाएको साहाराका तर्फबाट पहिलो हाफको थप ३ मिनेटमा जर्सी नं. ७ का हिमान्सु थापाले जवाफी गोल गर्न सफल भए । दोस्रो हाफमा लयमा आएको साहाराका जर्सी नं. ५ का दिपेन सिह ठकुरीले खेलको ८२ औ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा पुर्याउन सफल भए भने जर्सी नं. १८ का निरन्जन शाहीले ९० औं थप गोल गर्दै टिमलाई ३–२ को जित दिलाउन सफल भए । खेलको म्यान अफ म्याछ जर्सी ५ का दिपेन सिह ठकुरी भए ।

प्रतियोगिता अन्तरगत भोलि दिउँसो पहिलो सेमिफाइनलमा एपिएफ लुम्बिनी प्रदेश र राईजिङ स्टार घोराही भिड्नेछन् । खेल दिउँसो २ बजेपछि हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा टरिगाउ युवा क्लब तुलसीपुर र साहारा फुटबल क्लब लखनउ भिड्नेछन् । खेल फागुन २६ गते दिउँसो हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीति बहादुर गिरी प्रेसले जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस