तुलसीपुरमा आधुनिक बधशाला विषयमा प्रारम्भिक छलफल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बधशाला निर्माणका लागि प्रारम्भिक चरणको छलफल सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले पश्चिम क्षेत्रका चार वटै पालिकाको सहकार्यमा बधशाला निर्माणका लागि पालिकास्तरीय छलफल गरेको छ ।

नगरप्रमुख टीकाराम खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा पालिकाले निर्माण गर्न थालेको औद्योगिक ग्राम निर्माण स्थलभित्रै बधशाला बनाइनेछ । प्रमुख खड्काले स्वस्थ मासु खान पाउने उपभोक्ताको अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकाभित्र आधुनिक बधशाला अनिवार्य रहेको बताउनुभयो । उहाँले तीन तहकै सरकार,व्यवसायी र पशुपालक किसानसँगको संयुक्त सहकार्यमा बधशाला निर्माण गरिने बताउनुभयो । नगरप्रमुख खड्काले बधशालाका लागि आवश्यक पर्ने विद्युत,खानेपानी,सडक पूर्वाधारको व्यवस्था रहेको समेत बताउनुभयो ।
बधशाला निर्माणका लागि प्राविधिक सहयोग गर्दै आएको हेफर इन्टरनेशनल नेपालका निर्देशक तीर्थराज रेग्मीले यस क्षेत्रमा मात्रै सात हजार बढी व्यवसायीकरुपमै पशुपालक किसान रहेको बताउनुभयो । उहाँले करिब साढे सात करोडको लागतमा प्रारम्भिक चरणमा खसी बधशाला निर्माण गर्न सकिने बताउनुभयो ।


दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले आधुनिक बधशाला निर्माणका लागि पालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले पालिका ग्रामीण क्षेत्रमा रहेको र अधिकांश पशुपालक किसान रहेकाले बजारका लागि आधुनिक बधशाला अनिवार्य रहेको बताउनुभयो । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले बधशाला निर्माणका लागि प्रक्रिया अघि बढाउनुपर्ने र त्यसमा मासु व्यवसायीहरुको समेत प्रत्यक्ष संलग्नता भए कार्यान्वयनमा सहज हुने बताउनुभयो ।
लेखा समितिका संयोजक घनश्याम ढकालले बजार क्षेत्र बढ्दै गएकाले तीनै तहका सरकारले आधुनिक व्यवस्थित बधशाला अनिवार्य रहेको बताउनुभयो । वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले आधुनिक बधशाला निर्माणसँगै नजिकका जिल्ला र कर्णाली प्रदेशमा समेत मासु निर्यात गर्न सकिने बताउनुभयो ।


संस्थाले बधशालाको विस्तृत अध्ययन,वातावरणीय प्रभाव मूल्याङ्कन। बधशालामा राखिने उपकरणको प्राविधिक सहयोग गर्नेछ । बधशालामा शुरुमा खसी बधको काम अघि बढाइनेछ । त्यसपछि क्रमशः राँगा, भेडा, कुखुराका लागि निर्माण गरिनेछ । लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले अत्याधुनिक बधशाला निर्माण गरिसकेका छन् । सार्वजनिक,निजी,उत्पादक साझेदारीको संयुक्त लगानीमा बधशाला निर्माण गरिनेछ ।

यस क्षेत्रमा अत्याधुनिक बधशाला नहुँदा अस्वस्थकर मासु नागरिकहरु बाध्य छन् । विज्ञका अनुसार अत्याधुनिक बधशालामा काटेको निरोगी पशुका मासु गुणस्तर परीक्षण गरी कम्तीमा माइनस १० डिग्री सेल्सियसको तापक्रममा २४ घन्टा डिप फ्रिजमा राख्नुपर्दछ । यसरी विधि प्रक्रिया पु¥याएको मासु मात्रै स्वास्थ्यका लागि हितकारक मानिन्छ । वि सं २०५५ मा बनेको पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा उपभोक्ताहरु दूषित मासु खान बाध्य छन् ।


फोहर र दूषित मासुमा साल्मोनेला, इकोलाई जस्ता मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने जीवाणु हुने गर्छ । यसले गर्दा पशुबाट मानिसमा रोग सर्ने र स्वास्थ्यमा असर पार्ने खतरा हुन्छ । अध्ययनबाट मानिसमा सर्ने रोगमध्ये ७५ प्रतिशतको कारण पशुपक्षी र तिनका मासु नै भएको देखिएको छ ।


विसं २०५५ सालमा बनेको ऐनमा पशुपक्षी बध गर्नुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान छ । यसरी डिप फ्रिजमा राखिएको मासु मात्र बिक्री गर्न पाइने प्रावधान छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस