लुम्बिनी प्रादेशिक अस्पतालले ११४औं वार्षिकोत्सव मनाएको छ । १९६७ सालमा दुई जना भारतीय चिकित्सक र ६ शैय्याबाट शुरु भएको अस्पतालले ११४औं वार्षिकोत्सव मनाउने दिनसम्म आइपुग्दा विशेषज्ञ तथा मेडिकल अधिकृतसहित १२७ जना चिकित्सक, नर्सिङ कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ सहित विभिन्न क्षेत्रमा गरी यहाँ ८ सय १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर सुर्दशन थापाका अनुसार हाल यहाँ ४ सय ९० वेड सञ्चालनमा छन् । अस्पतालमा दैनिक ओपिडिमा १५ सय देखि २ हजार जना तथा इमर्जेन्सीमा २ सय देखि २ सय ५० जना सम्म बिरामी आउने गर्छन ।
बिरामीको चाप रहेको यस अस्पतालमा ७ सय वेड क्षमताको १० तले भवन बनाउने योजना अगाडि बढाइएको छ । त्यस्तै ४ तले १ सय वेड क्षमताको क्यान्सर उपचारको लागि अत्याधुनिक भवन बनाउने योजना अगाडि बढाइएको छ । यहाँ १२ सय वेडको अस्पताल बनाउने गरी योजना समेत अगाडि बढेको छ ।
अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजान्छौं : स्वास्थ्यमन्त्री खनाल
वार्षिकोत्सव समारोहमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको नेतृत्वदायी अस्पतालका रुपमा विकास गर्न सरकार लागि परेको बताए । यस अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजाने गरी काम अगाडि बढेको उनको भनाई छ ।
स्वास्थ्य मानवको जिवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्दै गुणस्तरवृद्धिमा प्रदेश सरकारले जोड दिएको उनले बताए । उनले प्रदेश मातहतका अस्पतालहरुको अहिलेको अवस्थाको बारेमा अध्ययन गरेर प्राविधिक जनशक्ति, पूर्वाधार र उपकरणको क्षेत्रमा काम गर्ने तयारीमा जुटेको धारणा राखे । मन्त्री खनालले हाल प्रदेश मातहतका अस्पतालहरुमा १ सय ५ जना विशेषज्ञ डाक्टरहरुको कमी रहेकाले तत्कालका लागि करारमा राखेर भएपनि सेवा दिन खोजिएको बताए ।
कार्यक्रममा वोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकीकृत विकास आवश्यक रहेको भन्दै प्रादेशिक अस्पतालको विकास र विस्तारको लागि मन्त्रालयबाट पहल जारी राखेको बताए ।
यसैगरी लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्वाथ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्न आवश्यक रहेको भन्दै यसको लागि अझै अस्पतालले विकास गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, अस्पताल विकास समितिका पूर्व अध्यक्ष बाबुराम भट्टराई, पूर्व मेसु डाक्टर कृष्ण खनाल, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनाल, अस्पताल नर्सिङ प्रमुख ज्योति पौडेल, प्रशासन प्रमुख राजन केसीलगायतले अस्पताल तथा स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
क्याथ ल्यावको उद्घाटन
मंगलवार नै अस्पतालमा क्याथ ल्याव सेवाको उद्घाटन गरिएको छ । मन्त्री खनालले क्याथ ल्यावको उद्घाटन गरेका हुन् । क्याथ ल्याव सेवा सुरु भएसँगै मुटु रोगीहरुका लागि उपचार सेवा केही सहज हुने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको जानकारी दिए । उनले १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका काम भएको बताए । यसैगरी निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उनको भनाइ थियो ।
तत्कालिन राणाप्रधानमन्त्री श्री ३ चन्द्र समशेर जवराको पालामा विस १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवलफुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैय्याबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसंचार गृह रहेको स्थान हुँदै बुटवलउप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालले ११४औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवारबीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भबिल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


