दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स विजयी

घोराही । नेपाल टेलिकमा दाङ क्रिकेट लिग (डीसीएल–२) मा तुलसीपुर रोयल्सले विजयी सुरुआत गरेको छ । घोराहीमा रहेको गुलेरिया क्रिकेट मैदानमा मंगलबार भएको आफ्नो पहिलो खेलमा दंगाली लायन्सलाई २७ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको थियो । जवाफमा दंगाली लायन्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर रोकिए पछि तुलसीपुर रोयल्स २७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गर्दा तुलसीपुर रोयल्सका लागि विराट सिंह भण्डारीले विपिन रावलले उत्कृष्ट साझेदारी गर्दै गतिलो सुरुआत गराएका थिए । विराट र विपिनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा विपिन ४२ रन बनाएर आउट भएका थिए । उनले ४५ बलमा एक छक्का र तीन चौका प्रहार गरे । यसैगरी अर्का ओपनर विराटले ५७ बलमा ३८ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरे । यस्तै, अमरसिंह रौटेला १० रन बनाएर रनआउट हुँदा ६ बलमा दुई चौका हिर्काए । यसैगरी रुपेश सिंहले ८ रनको योगदान गरे । भुनव कार्कीले ७ रनको नटआउट पारि खेलेका थिए । तुलसीपुरले अतिरिक्त २० रन प्राप्त गरेको थियो ।

दंगाली लायन्सका विपिन खत्री, बसिर अहमद र प्रकाश जैशीले एक एक विकेट लिए ।

जवाफमा दंगाली लायन्सका लागि सन्तोष कार्कीले ४२ बलमा दुई चौका र एक छक्काको मद्दतले ३१ रन बनाउँदा अंकित भण्डारीले १४ बलमा दुई चौकाको मद्दतले १६ रन बनाए । वसिर अहमदले ८ रन बनाउँदा शंकर राना भने गोल्डेन डकआउट भएका थिए । शिशिर डाँगी २ रन बनाएर रन आउट हुँदा प्रकाश जैसीले ३ रन बनाए ।

अन्त्यमा विपिन खत्री र सनम श्रेष्ठले टिमलाई जिताउन प्रयास गरे पनि सफल हुन सकेनन् । विपिनले १९ बलमा १२ रन बनाएर आउट हुँदा एक छक्का प्रहार गरे । उनी सातौं विकेटको रुपमा पभेलियन फर्किए । यसैगरी सनम श्रेष्ठले ७ रन बनाएर आउट भएपछि जित निकै टाढा पुगेको थियो । अन्तिम विकेटको रुपमा कृष्ण भण्डारी ५ रन बनाएर आउट भए । हेमराज राना ३ रनमा नटआउट रहेका थिए ।

तुलसीपुरका लागि अमरसिंह रौटालेले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर ३ विकेट लिए ।

यसैगरी दिवान पुनले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिँदा रुपेश सिंहले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट हात पारे । इस्माइल अन्सारीले २ ओभरमा १४ रन दिएर ३ विकेट हात पारे ।

विनोद कुमार विकले २ ओभरमा १० रन खर्चिदा भुवन कार्कीले ४ ओभरमा १२ रन दिएका थिए ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ । हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार पाउने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, क्रिजल आयल सप्लायर्स, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी रहेका छन् । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले सहयोग गरेका छन् । जसअनुसार, क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य तथा धनगढीमा रहेको माया मेट्रो अस्पतालका संचालक धीरेन्द्र सावद, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव, रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्ल, नवलपरासी जिल्ला क्रिकेट संघमा लामो समयदेखि नेतृत्व गर्दै क्रिकेटको गतिविधि सक्रिय बनाउँदै आउनुभएका अग्रज कृष्ण श्रेष्ठ, रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसी, नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले प्रतियोगिता सफलताको कामनासहित नगद सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस