विजौरी । मानव शरीरमा रोगको उपचारमा भन्दा पनि रोग लाग्न नदिने क्षमताको विकासलाई प्राथमिकतामा राखेर आयुर्वेद चिकित्सा विज्ञान सुरु भयो । त्यसो त दीर्घरोगहरुको उपचारका लागि पनि आयुर्वेद चिकित्सा प्रभावकारी स्वास्थ्य विधा पनि हो । यहि अभियानमा रहेको तुलसीपुर उपमहानगरपालिका—१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई अहिले बिरामी भर्ना लिनै मुस्किल भएको छ । स्वास्थ्य उपचारका लागि भर्ना हुन अब बिजौरीमा पालो कुर्ने अवस्था आएको स्वयम् बिरामीहरुले बताएका छन् ।
कुनैबेला वैद्य र कविराजले चलाउँदै आएको बिजौरी आयुर्वेद चिकित्सालयमा अहिले नेपाल सरकारलेनै चार जना विशेषज्ञ चिकित्सकसहितको दरवन्दी तोकेको छ । तर पनि सरकारी तहबाट बिजौरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन, डा.सन्तोष ठाकुर । उनैलाई अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी पनि दिइएको छ । बाँकी विशेषज्ञ चिकित्सक अस्पतालले आफै व्यवस्थापन गर्दै आएको छ । सरकारले तोकेका दरवन्दी जनरल, वालरोग, स्त्रीरोग र कार्याचिकित्सकको दरबन्दी पुरा हुन नसकेपछि यी सेवाका लागि अस्पतालले आफ्नै पहलमा विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ ।
पछिल्लो समयमा बिरामीहरुलाई आयुर्वेद चिकित्साप्रतिको विश्वास बढ्दै गएको छ । रोगको दीर्घकालीन समस्याको समाधानसँगै निरोगी बन्नका लागि आहार विहार, व्यायम र योगालाई समेत सो अस्पतालले अंगिकार गर्दै आएका छ । यहीँ कारण अहिले दाङ जिल्लाका मात्र नभएर समग्र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बिरामीहरुको पनि आयुर्वेद उपचारको गन्तव्य बनेको छ, बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय ।
अस्पतालको स्वीकृत वेड संख्या जम्मा ३० हो । तर मंगलबार पनि सो अस्पतालका ३२ वेडमा बिरामीहरुले उपचार सेवा लिइरहेका छन् । ‘भर्ना हुनुपर्ने बिरामीको चाप बढेपछि थप दुई वटा वेड व्यवस्थापन गरी अत्यावश्यक सेवा लिनुपर्ने बिरामीलाई भर्ना गरी उपचार गरिरहेका छौं’, अस्पतालका निमित्त निर्देशक डा ठाकुरले साक्षी खबर पत्रिकालाई भने । कतिपय बिरामीलाई भर्नाका लागि पछि आउन भनेर फर्काउनु परेको पनि उनको अभिव्यक्ति थियो ।
अस्पतालमा विशेषगरी पायल्स, फिस्टुला, फिसर र ववासिरका बिरामीहरुको संख्या बढी छ । किनकी पायल्स र फिस्टुलाको क्षारसुत्र विधिबाट शल्यक्रिया गराउनका लागि बिरामीहरुको बढी चाप हुने गरेको छ । ‘एलोप्याथिक चिकित्सामा नेपालगन्ज मेडिकल पश्चिम रुकुमका पदम बहादुर खड्काले नेपालगन्जको भेरी अस्पतालमा उपचार गर्दा कुनै निको हुने संकेत नदेखिए पछि अहिले प्रादेशिक अस्पताल बिजौरीमा भर्ना भएका छन । पाइल्सका बिरामी खड्काले नेपालगञ्जमा ८, १० हजार अन्यायसै खर्च भएको बताए । पहिलो पटक यहाँ आएकोले निको हुनमा आशा पलाएको बताए । निम्न वर्गीय परिवारका खड्काले यसअघि सिधैं यहाँ आएको भए अहिले पुरै निको हुने बताए । उनलाई क्षारसुत्रको शल्यक्रियाका लागि कम्तिमा एक साता पालो कुर्नु परेको थियो ।
उनीजस्तै रोल्पाका हाडजोर्नीको समस्या भएका अर्का बिरामी तारादेव वलीले पनि अस्पतालको सेवाप्रति सन्तुष्टि व्यक्त गरे । उनलाई चिकित्सकहरुले पञ्चकर्म तथा फिजियोथेरापीबाट उपचार गराइरहेका छन् । करिव एक हप्ता भन्दा बढी तेल पानीको वाफले सेक्ने गरिएको छ । पछिल्लो एक सातामा उनको घुडा दुख्ने समस्या पुरै निराकरण भएको पनि स्वयम्ले बताए । अब एक दुई दिनमै डिस्चार्ज हुने उनले बताए । ‘दुई वर्षअघि यहाँ पाइल्सको लागि आएको थिए पुरै निको भएर यस पटक घुडाको जोर्नी दुखेर हिड्न नै सकिएको थिएन अहिले त पुरै निको भएको छ ।’ उनले भने ।
अस्पतालमा निशुल्क औषधि र निशुल्क टिकट मात्र होइन, प्रयोगशाला सेवा तथा भिडिओ एक्सरे, एक्सरे तथा इसिजि सेवा समेत उपलव्ध छ । नियमित सुगर परीक्षणमा आउने ज्येष्ठ नागरिकहरुलाई बार हेरेर निशुल्क परीक्षणको व्यवस्थापन पनि अस्पतालले मिलाएको छ । अन्य सेवामा पनि न्युनतम शुल्क । जनरल सर्जरी, क्षार सुत्र, पञ्चकर्म, स्त्री, वालरोग तथा नाक, कान घाँटी रोगको उपचारका लागि विशेषज्ञ चिकित्सक सेवा उपलव्ध छ । फिजियोथेरापीष्टबाटै फिजियोथेरापी सेवा उपलव्ध छ । विहानीमा बिरामीहरुलाई आवश्यकता अनुसारको योगा र जोसुकैका लागि खुल्ला नागरिक व्यायमशाला पनि बिजौरी अस्पतालमा उपलव्ध छ । साथै अस्पतालले आफ्नै फार्मेसी सेवा पनि सञ्चालनमा ल्याएको छ । सहुलियत मुल्यमा किन्नुपर्ने अन्य औषधिहरु अस्पताल फार्मेसीले उपलव्ध गराउँदै आएको छ । अहिले बिजौरी आयुर्वेद चिकित्सालयमा दैनिक एक सय पचास भन्दा बढी बिरामीले ओपिडि सेवा लिने गरेका छन् । त्यसमा अत्यधिक पायल्स र फिस्टुलाको समस्या भएका आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दैनिक करीव आधा लर्जन जतिको क्षारसुत्रबाट शल्यक्रिया हुने गरेको पनि बताइएको छ ।
अस्पताललाई ५० वेडमा लैजान मन्त्रालय आतुर : स्वास्थ्य सचिव पन्थी
यसैबीच प्रदेश सरकारको माताहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई ५० वेडको अस्पताल बनाउन लुम्बिनी प्रदेश सरकार आतुर रहेको छ । त्यसका लागि प्रक्रिया समेत केही समयमै अघि बढाइने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘बिजौरी आयुर्वेद अस्पताललाई पचास बेडको अस्पताल बनाउन अब चाडैं ओएनएम सेर्वे हुँदैछ, त्यसका लागि प्रदेश नियमावलीको प्रतिक्षामा छौं’, प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले भने । प्रदेश सरकारले ओएनएम सर्वेका लागि ऐन ल्याइसकेको छ ।
अब नियमावली बनेपछि सवै मन्त्रालयहरुले माताहतका कार्यालयहरुको ओएनएम सर्वे गर्ने पनि प्रदेश सचिव डा.पन्थीले बताए ।
यद्यपि नियमावली कहिले आउने भन्ने विषय भने अझै अन्योल छ । प्रदेश सरकारले विगत दुई बर्ष अघिदेखि आफ्ना नीति र कार्यक्रममै सम्बोधन गरी बिजौरी अस्पताललाई कम्तिमा ५० वेडको अस्पताल बनाउने उद्घोष गर्दै आएको छ । यद्यपि यो कार्यान्वयनमा जान भने सकेको छैन ।
साक्षी खबरवाट


