अत्याधिक चिसो बढेपछि विद्यालय बन्द

ढोरपाटन (बागलुङ) । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन । ढोरपाटन नगरपालिका ९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, ‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन । अब फागुन लागेपछि मात्रै खुल्छन ।’ एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको उनले बताए । उनका अनुसार सो विद्यालय पहिलेदेखि नै घुम्ती विद्यालय हो । यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ । यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन हुने शिक्षा प्रमुख ज्ञानेन्द्र सापकोटले बताए ।

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।

‘यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ भने धेरैजसो बालबालिका सामान्य परिवारका छन, उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपछ’, उनले भने, “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ ।’

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस