युगान्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ । भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो ।

सो अवसरमा भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘युगान्डामा मेरो पहिलो भ्रमण हो । तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै मैले गृह मन्त्रीजीसँग गरेको छलफलबाट भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।’

उहाँले भेटघाट तथा अन्तरक्रियाबाट आफूले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएको भन्दै देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका विदेशमा बस्ने नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गर्नुभयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो।

उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत उपस्थित हुनुहुन्थ्यो।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस