समग्र सञ्चार क्षेत्रकै पुनर्संरचना गर्ने प्रकृया अघि बढेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको बताउनुभएको छ । मन्त्री शर्माले कार्यभार सम्हाल्नु भएको एक बर्ष पुगेको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले समग्र सञ्चार क्षेत्रकै पुनर्संरचनाका लागि आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन प्रक्रियामा अघि बढाएको बताउनुभयो ।

श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र आम सञ्चार क्षेत्रमा समावेशीकरणको सवाललाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो । चालु नेपाल टेलिभिजन र रेडियो नेपालको पुनःसंरचना गर्न सार्वजनिक प्रसारण विधेयक यसै बर्ष भित्र पारित गरी अघि बढाउने तयारी सरकारले गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमलाई थप समावेशी बनाउँदै लैजान सरकार प्रयत्नशील रहेको पनि मन्त्री शर्माले बताउनुभयो । त्यसक्रममा रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले भाषाभाषीको संख्या बढाइरहेका र राससबाट मातृभाषामा समाचार सेवा सुरु भएको पनि मन्त्री शर्माले बताउनुभयो ।

सरकारी सञ्चारमाध्यम सरकार र जनताका बीचमा पुलको काम गर्ने माध्यम बन्नुपर्ने भन्दै मन्त्री शर्माले जनताका गुनासा सरकारसमक्ष पुर्‍याउने र सरकारले गरेका राम्रा काम जनतासमक्ष पुर्याउने भूमिका खेल्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस