शैक्षिक गुणस्तर सुधार गर्ने उपायको खोजीमा जुट्यो नगरपालिका

खोटाङ । शिक्षाको गुणस्तर सुधार गर्ने उपायको खोजीमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘शिक्षामा सुधार सम्भव छ ?’ विषयक शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

सामुदायीक विद्यालयको घट्दो आकर्षणलाई उकास्नका लागि नगरपालिकाले आइतबार नगरभित्रका दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रअ, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पुर्वप्रअ, व्यवस्थापन समितिका पुर्वपदाधिकारी, विद्यार्थी लगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । पछिल्लो समय सामुदायीक विद्यालयको गुणस्तर खस्किदै गएको अवस्थामा त्यसको ‘जड’ पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

बसाई सराई, निजी स्कुल, जन्मदर रोकथाम, बैदेसिक रोजगार लगायतका कारण सामुदायीक विद्यालय रित्तिदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायीक विद्यालयमा बस्ने वाताबरण बनाउने उपायको खोजीमा जुटेको हो । शैक्षिक बहसको माध्यमबाट नगरपालिकाले सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायीक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्न लायक बनाइनुपर्ने सुझाव दिएका छन् । यस्तै, शिक्षक, जनप्रतिनिधि लगायतको छोराछोरीलाई अनिवार्य सामुदायीक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रवन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्याक्रम लागु गर्नुपर्ने लगायतका सुझाव आएको छ ।

सुझाव राय टिपोट गर्दै प्रतिबेदन तयार गर्नका लागि शुभम फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई संयोजक तथा पञ्चमाबि दिक्तेलका प्रअ लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ । तीन सदस्यीय समितिलाई कार्यक्रममा व्यक्त गरिएका सुझावको आधारमा पाँच दिनभित्र प्रतिबेदन पेश गर्न समय दिइएको मेयर भट्टराईले बताए ।

सामुदायीक विद्यालयमा राज्यको करोडौं लगानी छ । उच्च शिक्षा हाँसिल गरेका र तालिम प्राप्त शिक्षकहरुको व्यवस्था छ । तर, विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वाताबरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने संकेत देखिन थालेका छन् । तह अनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन । यिनै समस्या हल गर्ने प्रयास स्वरुप शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम गरिएको मेयर भट्टराईले बताए । ‘सामुदायीक विद्यालयमा कैयौं समस्याहरु देखा परिरहेका छन् । न काखमा बच्चा छ न कोखमा । पाँच सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ,’ भट्टराईले भने, ‘शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्छौँ । प्राप्त राय सुझाव संकलन गरेर कार्यान्वयनमा जान्छौैँ ।’

तीन सदस्यीय टिपोट समितिले बुझाएको प्रतिबेदनको आधारमा पुःन पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव संकलन गरिने नगरपालिकाले जनाएको छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाइएको मेयर भट्टराईले बताए ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस