दंगीशरणमा पुस २७ र २८ गते माघ महोत्सव लाग्ने

दंगीशरण । दाङको दंगीशरणमा माघ सांस्कृतिक महोत्सव लाग्ने भएको छ । थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा यहि पुस २७ र २८ गते महोत्सवको आयोजना गर्न लागिएको हो ।

थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघ साँस्कृतिक महोत्सव आयोजना गर्न थालिएको माघ महोत्सव मुल समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिए ।

महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच, कठ्घोरी नाच, लठवा नाच, सोरठि नाच, गोर्या नाच, थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंघी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकारहरु उपलब्ध रहने भएका छन । साथै थारु केन्द्रीय तथा जिल्ला स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने भएको छ ।

संयोजक चौधरीका अनुसार महोत्सवको तयारीलाई तिब्र पारिएको छ । अहिलेसम्म ७ वटा वडाका गरी ६४ वटा नृत्य दर्ता भइसकेको बताएका छन । २ दिनसम्म चल्ने माघ महोत्सवमा सहभागी भइदिन आयोजकले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस