बिजौरी । राष्ट्रिय हात्तिपाइले रोग निवारणका लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम बुधबार तुलसीपुर–१९ मा सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा डा. गोकर्ण दाहालको प्रमुख आतिथ्यता र जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल प्रशन कमल चन्द, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हात्तिपाइले निवारणको बारेमा जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले जानकारी गराएका थिए । हात्तिपाइले निवारणको १३ औं चरणको कार्यक्रम सम्पन्न भइसकेको बताउँदै अब अभियान चलाउने की के गर्ने भन्ने बारे सर्भे चलिरहेको चन्दले बताए । ११ वर्षसम्म २ थरीको औषधी खुवाइएकोमा विगत २ वर्षदेखि ३ थरीको औषधी खुवाउदै आएको उनले बताए ।
साथै उनले हात्तिपाइले रोग निवारणको अभियान सन् २००३ देखि सुरु भएको र यो लामुट्टेबाट सर्ने एक प्रकारको जुका भएको बताए । हात्तिपाइले रोगको परीक्षण, जोखिम र रोग निवारण अभियानको अवस्थाबारे प्रकाश पारेका थिए ।
त्यस्तै डा. गोकर्ण दाहालले हात्तिपाइले रोगको परीक्षण किटबाट गरिरहेको बताए । पहिलो किटबाट परीक्षण गर्दा पोजेटिभ आएका रगत जाँच गर्ने बताए । तर यसपटक २० वर्षभन्दा माथिका मानिसहरुलामा परीक्षण गरिने उनले बताए । किटमा पोजेटिभ आएका बिरामीहरुको रगत रातको १० बजेदेखि २ बजेको बीचमा लिइ परीक्षण गर्नुपर्ने बताए । सोही समयमा हात्तिपाइले रोगको किटाणु सक्रिय रहने हुँदा परीक्षण प्रभावकारी रहेको दाहालले बताए । साथै रातको समयमा बिरामीको रगत लिन जाँदा कुनै समस्या हुनसक्ने भन्दा सुरक्षाकर्मीलाई समन्वय गरिदिन आग्रह समेत गरेका थिए ।

दाहालका अनुसार हात्तिपाइले रोगविरुद्धको अभियान सर्वव्यापीरुपमा सञ्चालन गरेता पनि निवारण पूर्णरुपमा तथा १ प्रतिशतभन्दा मुनि नदेखिएकोले दाङ फेल भएको छ । यस पटक दाङका चार स्थानमा तुलसीपुर–१९, दंगीशरण, सुर्केडाँडा र सिसहनियामा यो अभियान सञ्चालन हुनेछ । १५० घरको ३०० जनामा हात्तिपाइल रोग परीक्षण गरिने उनले जानकारी दिए ।
कार्यक्रममा तुलसीपुरका जनस्वास्थ्य निरिक्षक बिमल केसी, नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीलगायतकाले बोलेका थिए । कार्यक्रममा स्वाथ्यकर्मी, स्वयमसेविका, सुरक्षाकर्मी, स्थानीयको सहभातिा रहेको थियो । कार्यक्रमको सञ्चालन बिजौरी स्वास्थ्य चौकीका प्रमुख गोविन्द पार्धेले गरेका थिए ।


